News Portal

एउटा सपना छ: देशका लागि खेल्ने

नवराज सुवेदी
७२ पटक

मेचीनगर । भवानी सानै थिइन् । गाउँघरमा क्रिकेटको क्रेज थियो । सानै भएपनि उनलाई क्रिकेटप्रतिको रुची अधिक थियो । उनका दाइ हरि गाउँमा साथीहरुसँग क्रिेकट खेल्न जाने गर्थे । उमेरमा सानी भवानी दाइलाई पछ्याउँदै क्रिकेट खेल्ने ठाउँसम्म पुग्थिन् । र, आफु पनि दाइहरुसँग खेल्ने प्रयास गर्थिन् ।

यसरी सानै उमेरमा क्रिेकटसँग नजानिँदो तवरबाट जोडिएको भवानीको साइनो अझै टुटेको छैन । उनी ठुली भइन्, उमेरका अंकहरु पनि बढ्दै गए । र, आज तिनै भवानी राष्ट्रिय स्तरका क्रिेकटका म्याच खेलिरहेकी छिन् । यो उनको कथा हो, जसले अब जनवरी–फेब्रुअरीमा मलेसियामा हुने दोस्रो संस्करणको यू–१९ विश्वकप खेल्ने सम्भावना बलियो छ । सायद उनी आईसीसी यू–१९ ट्वान्टी–२० विश्वकपको मैदानमा देखिनेछिन् ।

नाम भवानी कामती । उमेर १७ बर्ष । धुलाबारी बजार सिरानको पश्चिम पट्टी संयुक्त टोलमा छ, उनको घर । सानैदेखि क्रिकेटमा रुची राख्ने उनको घरमा क्रिकेटबाट जितेर ल्याएका मेडल, ट्रफीको गौरवमय सजावट छ । आजकल उनको दैनिकी नै बनेको छ । विहान ४ बजे उठ्ने, त्यसपछि हिँडेर धुलाबारी मोडसम्म आउने अनि गाडी चढेर क्रिकेट अभ्यास गर्न काँकरभिट्टा जाने ।

यसरी दैनिक क्रिकेट अभ्यास गरिरहेकी उनी यूएईमा जारी आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोट खेलमा नै पर्ने सम्भावना थियो । तर, खेलाडीको १८ औं नम्बरमा उनको नाम निस्कियो । १४ औं नम्बरसम्म नाम पर्ने खेलाडी यूएई पुगे । ४ नम्बर पछि नाम भएका कारण उनी यूएई पुग्न सकिनन् । ‘अब विश्वकप खेल्न बोलाउने कुरा छ, अब क्याम्पमा बोलाउँछन् । अनि छनोट हुने हुने भनेर गुरुहरुले भन्नुभएको छ,’ भवानी भन्छिन् ।

भवानीले सानै उमेरमा क्रिकेट क्षेत्रमा गरेको योगदान र उनले मारेको छलाङ जति गौरवपूर्ण छ । उनको वास्तविक जीवन भने त्यति नै भिन्न । घरमा बुबा, आमा विरामी छन् । दाइ हरिबहादुर कामती जसले भवानीलाई क्रिकेट चिनाए उनले काम गरेर ल्याएको मासिक पारिश्रामिकले घर धानिएको छ । हरि होटल मेची क्राउनमा ‘जब’ गर्छन् । ४ जना दिदीबहिनीमा दुई जनाको विवाह भइसक्यो भने एउटी दिदी लक्ष्मी कामती धुलाबारी बजारमा फलफूल बेच्ने गर्छिन् । लक्ष्मीको कमाइले पनि घर चल्न मद्धत गर्छ ।

यसरी अनेकन संघर्षमा बाँचिरहेको कामती परिवारको नाम देशैभर चिनाएर आफु पनि अब्बल खेलाडीका रुपमा स्थापित हुने ठुलो जिम्मेवारी अहिले भवानीको काँधमा आइपुगेको छ । तर, एउटा तितो यथार्थ । आर्थिक अवस्थाकै कारण उनी पढ्नबाट बञ्चित छिन् । उनले १० कक्षा उत्तीर्ण गरिसकेकी छिन् । त्यसपछि ११ पढ्न उनी केही दिन स्कुल पनि गइन् । तर, जब स्कुलबाट रकमका लागि ताकेता हुन थाल्यो । उनी स्कुल गइनन् ।

‘सुरुमा त गएँ, तर, निरन्तर जान सकिन । घरमा धेरै समस्या छ,’ उनलाई आर्थिक अवस्थाबारे खुलाउन अप्ठ्यारो लाग्यो सायदै, ‘अहिले खेलमा ‘फोकस’ गरिरहेकी छु । क्रिकेट अभ्यासमा एकदमै ध्यान दिइरहेकी छु ।’ उनलाई पढ्न मन नभएको कहाँ हो र ? तर, परिस्थितिले साथ दिएन सायदै ! भन्छिन्, ‘पढ्न त एकदमै धेरै मन छ ।’ उनी क्रिकेट खेल्ने क्रममा देशका विभिन्न स्थान घुमिसकेकी छिन् ।

काठमाडौंमा आयोजना भएको मेयर कप, पोखरामा सम्पन्न ९ औं राष्ट्रिय क्रिकेट प्रतियोगिता, चितवनमा सम्पन्न यू १९ क्रिकेट प्रतियोगिता यी सबै प्रतियोगितामा उनले खेलिसकेकी छिन् । कोशी प्रदेशको टिमबाट उनले यी प्रतियोगिता खेलेकी हुन् । उनी जीवनमा त्यो दिन साह्रै खुसी भइन् । जुन दिन उनले २०७९ असोजमा पोखरामा आयोजित ९ औं राष्ट्रिय क्रिकेट प्रतियोगितामा डेब्यु गरिन् । ‘साह्रै खुसी लाग्यो, राष्ट्रिय क्रिकेट प्रतियोगितामा खेल्न पाउँदा,’ खुसी मुहारका साथ उनी थप्छिन् ।

क्रिकेटमा सपनाका लहरहरु सजाउँदै भविष्यको खोजीमा हिँडिरहेकी भवानीलाई परिवारको ठुलो साथ छ । तर, परिवार आफैँ पनि त आर्थिक अवस्थाको पावन्दीमा बाँधिएको छ । क्रिकेट खेलका लागि विभिन्न स्थान पुग्नुपर्छ उनलाई । भनेको बेला पैसा हुँदैन । पैसा चाहिएका बेला आमालाई भन्छिन् उनी । आमाले सापटी भएपनि खोजेर ल्याइदिन्छिन् । तर, सापटीको उपक्रम कतिञ्जेल चल्ने ?

बेलाबेला उनलाई घरमा मात्रै कति सुनाउने ? भनेर दुःख पनि लाग्छ । तर, नभनेर पनि के गर्ने ? अरु सुनिदिने को छ र ? तरपनि हिम्मत हारिनन् उनले । आफ्नो उद्देश्यमा अटल रहेर निरन्तर अघि बढिरहिन् । र, त आज विश्वकपको मञ्चमा उनको उपस्थिति हुँदैछ ।

यसरी क्रिकेट खेलको माध्यमबाट परिवारको मात्रै नभएर, नगर, प्रदेश हुँदै देशकै लागि खेल्ने सपना देखिइरहेकी भवानीलाई हाम्रै घर अगाडिको सरकारले चाहिँ चिनेको छैन ! न उनको घरको अवस्था बारे नै जानकार छ ‘हाम्रो सरकार’ अर्थात स्थानीय सरकार । अभावका कयौँ समयमा त हिम्मत नहारी ‘शिखर चुम्ने’ हुटहुटी बोकेर संघर्षको मैदानमा होमिएकी भवानीको एउटा सपना छ, ‘देशका लागि खेल्ने, नेपालको जर्सी लगाएर चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा फहराउँदै विश्वको मञ्चमा देशलाई चिनाउने’ ।

नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक आईसीसी यू–१९ ट्वान्टी–२० विश्वकप खेल्ने भएको छ । यूएईमा भइरहेको आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटको निर्णायक खेलमा नेपालले बुधबार यूएईलाई ८ विकेटले पराजित गरेसँगै जनवरी–फेब्रुअरीमा मलेसियामा हुने दोस्रो संस्करणको यू–१९ विश्वकपका लागि नेपालको ढोका खुलेको हो । विश्वकपको यही मञ्चमा देखिनेछिन् भवानी पनि सायदै ! अनि पुरा हुनेछ भवानीको सपना, ‘देशका लागि खेल्ने’ । बोर्डरल्यान्ड दैनिकबाट

प्रतिकृया दिनुहोस्