News Portal

इस्ट होराइजनको विदेशमा चर्चा

झुलन रेग्मी
२७५ पटक

धुलाबारी । निजी क्षेत्रबाट सञ्चालित झापा मेचीनगरको इस्ट होराइजन माविले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो परिचय स्थापित गर्दै लगेको छ । राष्ट्रिय स्तरमा थुप्रै सम्मान पाइसकेको इस्ट होराइजन अब्बल शैक्षिक क्रियाकलापका कारण विदेशमा पनि चर्चामा छ ।
हालै उत्कृष्ट विद्यालयमा छनोट भई इस्ट होराइजन मावि बेस्ट अलराउन्डर स्कुल विधातर्फ मलेसियामा आयोजित वल्र्ड स्कुल समिटमा सम्मानित भएको छ । त्यहाँ विश्वभरका २०० विद्यालय मध्ये होराइजन स्कूल उत्कृष्टमा पर्न सफल भएको हो ।
विद्यालयले पढाइसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई अब्बल बनाउन, अहिलेको शैक्षिक आवश्यकता परिपूर्ति गर्न रचनात्मक र कलात्मकलाई जोड दिएको मंगलवार स्कूलमा आयोजित पत्रकार भेटघाटमा प्रमुख प्रशासक सावित्री सापकोटा राईले बताइन् ।
विद्यालयका प्रिन्सिपल सन्जीव राईले विभिन्न देशहरुको सिकाइ प्रणाली अध्ययन गरी लागू गर्ने प्रयासमा आफूहरु रहेको बताए । ‘अब अध्ययन क्रियाकलाप परिवर्तन गर्न जरुरी छ,’ उनले भने, ‘त्यसैका लागि हामी विदेशतिर अध्ययन भ्रमण गरिरहेका छौं ।’
इष्ट होराइजन स्कूलले अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राखेको छ । विभिन्न विधामा जिल्ला, प्रदेश र संघमा प्रतिनिधित्व गर्दै सम्मान र अवार्ड थुप्रै पाइसकेको छ । त्यही भएर उक्त स्कूल अरु विद्यालय भन्दा फरक र एककदम अगाडि रहेको अभिभावकहरु बताउँछन् ।
स्वास्थ्य सम्झौता
इस्ट होराइजन स्कूलले बिर्तामोडस्थित बीएन्डसी अस्पतालसँग स्वास्थ्य सम्झौता गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई विशेष छुटमा उपचार गर्ने गरीको सम्झौता भएको हो । सम्झौता पछि उपचारमा १० प्रतिशत छुट दिने बताइएको छ ।
खेलकुद प्रतियोगिता
हरेक वर्ष झैं यस वर्ष पनि स्कूलमा खेलकुद प्रतियोगिता सुरु भएको छ । २८ वटा विधामा स्पर्धा भइरहेको अतिरिक्त क्रियाकलापका संयोजक नविन दाहालले बताए । उनका अनुसार बुधबार (आज) म्याराथन दौड प्रतियोगिता हुँदैछ । ज्यामिरगढीबाट उत्तर दौड गरिने उनले बताए ।
सबै प्रतियोगिता सम्पन्न गरेपछि माघ २३ गते भव्य समारोहकाबीच विजेता तथा अन्य पुरस्कार वितरण गर्ने जनाइएको छ । सोही दिन स्व. हरिप्रसाद राई मेमोरियल अन्तर सदन फुटवल प्रतियोगिता हुनेछ ।

प्रतिकृया दिनुहोस्