News Portal

निरन्तर भइरहेछ ढुंगा–गिटी तस्करी, नगरलाई ‘छैन पर्वाह’

रातोपोस्ट संवाददाता
३६ पटक

मेचीनगर । ‘दिनभर खोलामा ढुंगा संकलन गरिन्छ । ठाउँ–ठाउँमा थुप्रो बनाएर राखिन्छ । अनि रातको समयमा ट्याक्टर लगेर ढुंगा ओसारिन्छ । गिटीका लागि चाहिँ संकलनको जरुरी पर्दैन होला सायद ! राति ट्याक्टर लगेर लोड गरिन्छ, अनि ओसारपसार गरिन्छ,’ उत्तरी मेचीनगर अन्तर्गत मेचीनगर नगरपालिका वडा नं २ का एक स्थानीय भन्छन् ।

पुसको महिनासमेत सकिन लागिसक्यो । झापाको मेचीनगर नगरपालिकाले औपचारिक रुपमा नदीजन्य पदार्थको उत्खनन्को ठेक्का लगाउन सकेको छैन । जसले गर्दा नगरले प्राप्त गर्ने लाखौं राजश्व रकम त गुमिरहेको छ नै, नदीजन्य पदार्थको अवैध चोरी निकासी समेत भइरहेको पाइएको छ ।

विशेषगरी रातको समयमा खोलामै पुगेर ढुंगा, गिटी संकलन गरी अवैध रुपमा चोरी निकासी भइरहेको स्थानीय नागरिकहरु बताउँछन् । मेचीनगर नगरपालिकाले यसअघि पुस २ मै ‘मेचीनगर नगरपालिका भएर बग्ने मेची, निन्दा, टिमाई र हडिया खोलाहरुको बगर क्षेत्रबाट ढुंगा, गिटी, बालुवाको उत्खनन् तथा संकलन कार्यका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइईई) सम्बन्धी सार्वजनिक सुनुवाइको सूचना’, प्रकाशन गरेको थियो ।

जसअन्तर्गत नगरले विभिन्न वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेर स्थानीय नागरिकहरुको राय समेत संकलन गर्यो । तर, त्यस प्रक्रिया प्रक्रियामै सीमित बनेको छ । नदीजन्य पदार्थको उत्खनन् कार्य ठेक्का लाग्न सकेको छैन । उत्तरी मेचीनगर अन्तर्गतका मेचीनगर २, ३, ७, १५ लगायतका वडामा पर्ने क्षेत्रहरुबाट ढुंगा, गिटीको चोरी, निकासी भइरहेको स्रोत बताउँछ ।

‘महल्या चोक, धरधरे, भावना चोक लगायतका स्थानबाट रातभर ट्याक्टर ओहोरदोहोर गर्छन् । अवैध दोहनको यो प्रक्रिया मेचीनगर–३ हुँदै चुरे क्षेत्रसम्म नै पुग्छ । यिनै क्षेत्रबाट चोरी, निकासी भइरहेको छ,’ स्रोत भन्छ । यस क्षेत्रमा सुरक्षाका लागि सुरक्षाकर्मी खटिएका छन् । मेचीनगर–२ भृकुटीमा अस्थायी रुपमा रहेर नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ भने सशस्त्र प्रहरी लगायतका सुरक्षा संयन्त्र पनि सक्रिय छन् ।

यस अलवा नगरकै मातहत रहेको नगर प्रहरी पनि सक्रिय रुपमा परिचालित छ । तर पनि अवैध चोरी निकासी नियन्त्रण हुन नसकिरहेको विकसित घटनाक्रमले पुष्टि गर्छन् । प्रहरीकै नजर अघिबाट अवैध चोरी निकासी भइरहँदा समेत सुरक्षा संयन्त्र मौन रहेको स्रोतको भनाई छ । नदीजन्य पदार्थको अवैध चोरी निकासी मौलाउनुमा सुरक्षा संयन्त्र मात्रै होइन, नगरपालिका पनि उत्तिकै जिम्मेवार छ ।

समयमा खोला ठेक्का लगाउन नसक्नु, अनुगमन नगर्नु, गरिहाले पनि निरन्तरता नदिनु जस्ता कार्यले पनि अवैध चोरी निकासीलाई बढावा दिइरहेको प्रस्ट छ । यसो त झापाको मेचीनगर नगरपालिका नदीजन्य पदार्थ सम्बन्धी विवादमा पटक–पटक अल्झदै आएको छ । यस वर्ष पनि सोही विवादहरुको प्रत्यक्ष असर हो, नगरले सहजै ठेक्का लगाउन सकिरहेको छैन ।

नदीजन्य पदार्थको ठेक्का लगाउन किन सकेन मेचीनगरले ? कहाँ अड्कियो ठेक्का प्रक्रिया ? किन नियन्त्रणमा छैन अवैध चोरी निकासी ? नदीजन्य पदार्थ उत्खनन्का लागि बोलपत्र आव्हान गरिएको नगरपालिकाले जनाएको छ । ठेक्का प्रक्रियाका लागि सूचना जारी गरिएको र प्रक्रिया सुरु भएको नगरको भनाई छ । यस प्रक्रिया पनि विहीबारबाट मात्रै शुरु भएको बुझिएको छ ।

जथाभावी ढुंगा, गिटी चोरी निकासी भइरहेको भन्ने जनगुनासो आइरहेको छ । नगरले यस प्रकारका अवैध कार्यलाई नियन्त्रण गर्न के गरिरहेको छ ? भन्ने प्रश्नमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी भन्छन्, ‘यस प्रकारका अवैध कार्य रोक्न हामी लागिरहेकै छौं । जानकारी आउनासाथ सुरक्षा संयन्त्रसँग समन्वय गरेर पक्रिरहेकै पनि हो । यसमा नगर प्रहरी पनि सक्रिय छ । फेरि पनि यस्ता गतिविधि भइरहेका पाइए, प्रहरीसँग समन्वय गरेर सक्रियता थप बढाउनेछौं ।’ बोर्डरल्यान्ड दैनिकबाट

प्रतिकृया दिनुहोस्