News Portal

काँकडभिट्टाकी लीलामाया १३ दिनदेखि बेपत्ता

रातोपोस्ट संवाददाता
५४७ पटक

झापा, ११ चैत । मेचीनगर नगरपालिका–६ की ७० वर्षीया लीलामाया कार्की १३ दिनदेखि बेपत्ता हुनुभएको छ । आमा बेपत्ता भएको १२ दिन बितिसक्दा समेत प्रहरीले खोजीकार्यमा चासो नदेखाएको भन्दै परिवार र स्थानीयवासीले गुनासो गरेका छन् । परिवारका सदस्यले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर आमाको खोजीमा प्रहरीबाट सहयोग नपाएको गुनासो गरेका हुन् ।

गत फागुन २९ गते घरबाट हिँडेकी लीलामाया हालसम्म नफर्किएपछि परिवार र आफन्त उहाँको खोजीमा दिनरात भौँतारिरहेका छन् । उनी ठूली छोरीकामा जान्छु भनेर घरबाट हिँडे पनि भोलिपल्टसम्म नपुगेपछि चौतर्फी खोजी गर्दासमेत फेला पार्न नसकेको छोरा प्रेमकुमार कार्कीले बताए । उनले भने, “हामीले आफन्तकामा खोजी सकिऊ, कुनै अप्रिय घटना पो भयो कि भनेर वनजङ्गल, खोलानाला सबै चाहरी सक्यौँ तर आमालाई भेट्न सकेनौँ ।” लीलामायाका जेठा ज्वाइँ यामप्रसाद मैनालीले आमा २९ गते अपराह्न २ः५५ बजे काँकडभिट्टाबाट सूर्याेदय यातायात चढेर पश्चिमतर्फ लागेको सिसीक्यामेराको फुटेज भेटिएको जानकारी दिए ।

उनले भने, “आमा हाम्रोमा जाने भनेर हिँड्नु भएको रहेछ तर आइपुग्नु भएन, गाडी चडेर अन्तै लाग्नुभएको भेटियो कहाँपुग्नु भयो, कस्तो अवस्थामा हुनुहुन्छ केही थाहा छैन ।” चैत १ गते आमा हराएको उजुरी प्रहरीलाई दिए पनि हालसम्म प्रहरीले कुनै जानकारी नगराएको उनको भनाइ थियो । घरबाट हिँडेको यतिका दिन बितिसक्दा समेत कहीँकतै नभेटिँदा अपहरण भएको हुनसक्ने आशङका समेत गर्न थालिएको छ ।

प्रतिकृया दिनुहोस्