News Portal

निर्वाचन केन्द्रित समाचार लेखन र आचारसंहिता विषयक प्रशिक्षण

रातोपोस्ट संवाददाता
४८६ पटक

झापा, १५ चैत । निर्वाचन केन्द्रित समाचार लेखन र आचारसंहिता विषयक एक दिने प्रशिक्षण मंगलवार झापाको बिर्तामोडमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र संवाद समूह झापाको सहकार्यमा भएको प्रशिक्षणमा जिल्लाका क्रियाशील ७२ जना संचारकर्मीको सहभागिता रहेको थियो ।

महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा अनलाइन खवरका प्रधान सम्पादक शिव गाउँलेले सहभागीलाई प्रशिक्षण दिएका थिए । पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको प्रशिक्षणको उद्घाटन महासंघ शाखाका पूर्व अध्यक्ष चिन्तामणि दाहाल र मोहनकाजी न्यौपानेले संयुक्त रुपमा गरेका थिए । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा आयोजित प्रशिक्षण उद्घाटन समारोहमा पूर्व अध्यक्ष दाहाल, फोनिजका निवर्तमान प्रदेश इञ्चार्ज दिपीन राई, नेपाल प्रेस युनियनका जिल्ला सचिव डिल्लीराम घोर्साई, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष मनकुमार गदाल, प्रेस सेन्टरका जिल्ला सचिव उद्धव पुरी, संघीय प्रेस मञ्चका अध्यक्ष दिलकुमार लावतीले शुभकामना मन्तव्य राखेका थिए ।

उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रममा उपाध्यक्ष सुशीला संग्रौलाले धन्यवाद ज्ञापन गरेकी थिइन् । सचिव डिकेश लामा र सहसचिव अर्जुन राजवंशीले सञ्चालन गरेको कार्यक्रममा सहभागीका तर्फबाट पर्वत पोर्तेल र शान्ति सुब्बाले आफ्ना अनुभव सुनाएका थिए । खोज पत्रकारिता केन्द्रका पूर्व सम्पादक समेत रहेका प्रशिक्षक गाउँलेले अहिलेसम्म नलेखिएका विषयमा खोज मुलक समाचार लेख्नु पर्नेमा जोड दिए । उनले पत्रकार आचासंहिता र निर्वाचन आयोगले जारी गरेको आचार संहितालाई अनिवार्य रुपमा पालना गर्नु पर्ने बताए । आचारसंहिता उल्लङ्घन गर्ने छुट कसैलाई नहुने भन्दै गाउँलेले उजुरी पर्ने हो भने आचारसंहिता उल्लङ्घन गर्नेहरु सबै दण्डित हुने बताए ।

गाउँलेले पत्रकारले अहिलेसम्म नलेखेका विषयमा प्रष्ट्याएका थिए । उनले निर्वाचनका बेला समाचार लेख्दा ध्यान पुर्याउनुपर्ने विषय, लेख्नुपर्ने विषय र लेख्न नहुने विषय सहभागीलाई जानकारी गराए । निर्वाचनका बेला आचारसंहिता पालनामा अझ विशेष ध्यान पुर्याउनुपर्नेमा उनले जोड दिए । सहभागीले आसन्न निर्वाचनका सन्दर्भमा प्रशिक्षण प्रभावकारी भएको र आफ्नो पत्रकारिताको मूल्यांकन गर्ने अवसरसंगै नयाँढंगले अघि बढ्नका लागि ज्ञान सीप हासिल भएको बताए ।

प्रतिकृया दिनुहोस्