News Portal

ताप्लेजुङको खेवाङमा पहिरोका कारण ५३परिवार विस्थापित,दुई जनाको मृत्यु

रातोपोस्ट संवाददाता
३५७ पटक

ताप्लेजुङ, ४ असार । ताप्लेजुङको सिरिजंगा गाउँपालिका ७ खेवाङमा पहिरोका कारण ५३ परिवार विस्थापित भएसगै दुई जनाको मृत्यु भएको छ । सिरिजंगा गाउँपालिकाको वडाअध्यक्ष बुद्ध दाहालका अनुसार पानी पर्ने क्रम नरोकिएकाले विस्थापित हुने क्रम अझै वड्ने देखिएको छ । एकदेखि अर्को बस्तीमा जाने उपाय नभएकाले समस्या जटिल भएको उनले टेलिफोनमा जानकारी दिए ।

दाहालका अनुसार तेम्फु र तुमाङखे क्षेत्रका मानिस सबैभन्दा बढी विस्थापित भएका छन् । हिजो शुक्रबार तेम्फुका ३० र आज तुमाङखेका २३ घर विस्थापित भएको दाहालले बताए । एकदेखि अर्को बस्ती जाने उपाय नभएकाले उनीहरु आफन्त, छरछिमेक भेला भएर डाँडामा बसेका छन् । शुक्रबार विस्थापित भएकामध्ये कतिपय कञ्चनजंघा आधारभूत विद्यालय तीन ढाँडेमा गएर बसेका छन् ।

सुर्के, सिवोक, गुरासे, तुम्याङको शिरानबाट झरेको पहिरोले जोखिम बढाएको दाहालले बताए । दुई वर्षअघि बनाएको स्वास्थ्य चौकी भवन पनि पहिरोले तान्न थालेको छ । बिहीबारको बाढीले सिवाखोला विद्युत् गृहको मुहान बगाएपछि विद्युत् सेवा अवरुद्ध छ । विद्युत् नहुँदा यहाँको टेलिफोन टावर मज्जाले घाम लाग्दा मात्रै चल्छ । ११ बजेमात्रै आफूले पनि सम्पर्क गर्न सकेको दाहालले बताए । गाउँपालिकाबाट आफू र विस्थापित आफ्नो वडाका बासिन्दाले सहयोग पाउन नसकेको गुनासो वडाको छ ।

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेल सशस्त्र र नेपाल प्रहरीको टोली पठाए पनि पहिरोका कारण पुग्न नसकेको बताउँछन् । ‘मलाई पनि वडाध्यक्षले विस्थापितको संख्या बढेको बताउनुभयो,’ पोख्रेलले भने, ‘त्यहाँको सूचना पाउन कठिन भएर प्रहरीको टोली पठाएपनि पुग्नै सकेको छैन ।’ रेडक्रससँग समन्वय गरेर राहत सामग्री पठाउन पहल गर्ने र गृह मन्त्रालयमा पनि जानकारी गराउने पोख्रेलले बताए । सागादिनको गणेश मावि र कञ्चनजंघा आधारभूत विद्यालय तुलनात्मक रुपमा सुरक्षित रहेकाले विस्थापितलाई त्यही ल्याएर राख्न अनुरोध गरेको पोख्रेलले बताए ।

खेवाङ घर भएका कांग्रेस जिल्ला कार्य समितिका सभापति गजेन्द्रप्रसाद तुम्याहाङ विस्थापितको संख्या अधिक रहेको बताउँछन् । ‘कसैको घरमाथि पहिरो छ, कसैको मुनिबाट तानेको छ,’ तुम्याहाङले भने, ‘म पनि हिजैदेखि सम्पर्कमा छु तर पानी परिरहेकाले उद्धारमा कठिनाई भएको छ ।’ प्रतिनिधिसभाका संसद योगेशकुमार भट्टराई त्यहाँको अवस्थाका विषयमा आफूले विभागीय मन्त्रीको ध्यानाकर्षण गराएको र उनिहरुको उद्धार र राहतका लागि सक्रियता बढाउनु पर्ने बताउँछन् । भट्टराईले शुक्रबारको बैठकमा पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

पहिरोले पुरेर बिहीबार एकाघरका सासु बुहारीको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । घाइतेको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । बिहीबार बिहानको पहिरोले फक्ताङलुङ गाउँपालिका २ खेजेनिममा एक घर बगाएको र वाड नं १ सावादिनमा पशुचौपाया बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्