News Portal

झापा- १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव लड्दिनँ : विश्वप्रकाश

रातोपोस्ट संवाददाता
२९७ पटक

झापा,१४ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि ठाउँबाट आगामी प्रतिनिधिसभा सदस्यको चुनाव नलड्ने बताएका छन् ।

काठमाडौं–५ कि झापा–१ भन्ने चर्चा भइरहेका बेला मंगलबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले यस्तो घोषणा गरेका हुन् । यसपटक आफूले चुनाव जित्ने उनको दाबी छ । ‘यो तेस्रो पटकको ट्रायल हो यसपटक अवश्य पास हुन्छु,’ शर्माले भने ।

तर, आफू उम्मेदवार हुने नहुने भन्ने विषयको टुङ्गो नलागेको उनले बताए । चुनाव जित्ने दाबी गरेका शर्माले यसपटकको चुनावमा राम्रो हिसाब किताब गरेर मात्रै उम्मेदवार बन्ने बताए । संविधान, लोकतन्त्र, मुलुक र जनताका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन अपरिहार्य भएको बताउँदै शर्माले गठबन्धन हुँदा झापा–१ माओवादीको भागमा पर्न सक्ने संकेत गरे ।

आफू उम्मेदवार बन्ने विषयमा आन्तरिक छलफल भइरहेको उनको भनाइ थियो । गठबन्धनमा सिट बाँडफाँट हुँदा पहिले जितेको ठाउँमा त्यही पार्टीलाई दिने भन्ने मापदण्ड रहेको उल्लेख गर्दै शर्माले भने, ‘पार्टी पदाधिकारीले उठ्ने इच्छा गरेको ठाउँमा छलफलबाट टुङ्ग्याउने सहमति भएको छ ।’

२०७४ को चुनावमा माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्रकुमार कार्कीले त्यस क्षेत्रमा शर्मालाई पराजित गरेका थिए । त्यसअघि संविधानसभाको निर्वाचनमा नेकपा (एमाले) का नेता रविन कोइरालाले शर्मालाई पराजित गरेका थिए ।

प्रतिकृया दिनुहोस्