झापा, १ जेठ । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूको पुनः एकीकरण परियोजना (रेमी) ले मेचीनगर ९ मा सामाजिक अभिमुखीकरण कार्यक्रम अन्तर्गत पहिलो चरणको तीन दिने कार्यक्रम सम्पन्न गरेको छ । बैशाख २७ गतेदेखि ९ नम्बर वडाका ५६ वटा टोल विकास संस्थाका पदाधिकारीहरू सम्मिलित कार्यक्रम बैशाख ३१ गते सम्पन्न भएको हो ।
वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूको पुनः एकीकरण परियोजनाले मेचीनगर- ९ मा बैशाख २७ गते मागुरमाणी सामुदायिक भवन, बैशाख ३० गते कवि शिरोमणि माविमा सामाजिक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो । वैदेशिक रोजगारीका सिलसिलामा आइपर्ने समस्याहरूलाई उजागर गर्न तथा आवश्यक सहजीकरण गर्ने उद्देश्यले गरिएको कार्यक्रमको अन्तिम दिन समापन सत्र बैशाख ३१ गते मेचीनगर साकोसको सभा हलमा आयोजना गरिएको थियो । सामाजिक अभिमुखीकरण कार्यक्रमको समापन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।
समापन सत्रमा बोल्दै नगरप्रमुख बुढाथोकीले देशका युवाहरू ठुलो सङ्ख्यामा रहरले होस वा बाध्यताले बिदेसिने गरेको बताए । यसले समाजमा प्रतिकुल असर परिरहेको उनको भनाई थियो । आर्थिक समृद्धिका लागि बिदेसिने धेरै नेपाली उतै समस्यामा पर्ने गरेको तितो यथार्थ हामी माझ रहेको र यस किसिमका समस्या आउन नदिन तथा आएका भए पनि समाधान गर्न रेमीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए ।
मेचीनगर- ९ की वडा सदस्य सुस्मा कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीसँगै रोजगार परामर्शकर्ता फडिन्द्रप्रसाद दाहाल, परिवार परामर्शकर्ता सरस्वती मिश्र, सामाजिक परिचालक सरोजकुमार खनाल र अन्जु खरेललगायतको सहभागिता रहेको थियो ।