काँकरभिट्टा, २ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नेतृत्व सम्हाल्न पाँच दल एकैठाउँ उभिएका छन् । नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संयुक्त रुपमा लोकतान्त्रिक, प्रगतिशील साझा प्यानल गठन गरी आज उमेद्वार घोषणा गरेका छन् ।
उक्त पाँच दलिय समिकरणमा नेपाली कांग्रेसले अध्यक्ष, सचिव लगायत अन्य सदस्य पद पाएको छ भने माओवादीले उपाध्यक्ष, नेकपा एकिकृत समाजवादीले कोषाध्यक्ष, राप्रपाले लेखा समिति संयोजक र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सदस्य पाउने गरी संयुक्त प्यानल निर्माण गरिएको छ ।
जसअनुसार अध्यक्षमा रोहित बुढाथोकीले उमेद्वारी घोषणा गरेका छन् भने उपाध्यक्षमा राजु दाहाल, सचिवमा विशाल तामाङ, कोषाध्यक्षमा बिमला देवकोटा, लेखा समिति संयोजकमा किशोर भण्डारीको उमेद्वारी घोषणा भएको छ । यसैगरी सदस्यहरुमा पवित्रा तिवारी (माओवादी), सीता कार्की (कांग्रेस), पूणर् योङ्हाङ लिम्बु (संघिय लोकतान्त्रिक), केदारजंग भट्टराई (कांग्रेस) र इन्द्र प्रधान (राप्रपा)को उमेद्वारी घोषणा भएको छ ।
यसैगरी लेखा समिति संयोजक राप्रपाले पाउँदा दुई सदस्य नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीले लिएका छन् । एकिकृत समाजवादीबाट विकास राउतको उमेद्वारी घोषणा भइसकेको छ भने कांग्रेसले उमेद्वार टुंग्याइसकेको छैन । आज काँकरभिट्टामा एक कार्यक्रमको आयोजना गर्दै प्यानलले आफ्नो उमेद्वारहरु घोषणा गरेको हो ।
नेपाली कांग्रेसका नगर सभापति सुदय पनेरुको सभापतित्वमा सम्पन्न उमेद्वार घोषणा कार्यक्रममा पाँचवटै दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । उमेद्वारी घोषणा कार्यक्रमपछि संचारकर्मीहरुसँग प्रतिक्रिया दिँदै अध्यक्षका उमेद्वार बुढाथोकीले उपभोक्तालाई स्वच्छ र सर्वसुलव तवरबाट खानेपानी पुर्याउने आफ्नो प्रमुख उद्देश्य रहेको बताए । यहि जेठ २६ गते खानेपानी संस्थाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ ।