News Portal

बाहुण्डाँगीमा हात्तीको सूचना दिन जीपीएस एप्स

रातोपोस्ट संवाददाता
११६ पटक

झापा, २१ असार । हात्ती आउँदै छ भन्ने अग्रिम सूचना दिने ‘जीपीएस एप्स’ सञ्चालनमा आएपछि बाहुनडाँगीका जनतालाई राहत महसुस भएको छ । वर्षौँदेखि पीडित यहाँका जनताले हात्ती आउँदै छ भन्ने अग्रिम सूचना दिने ‘जीपीएस एप्स’ सञ्चालनमा आएपछि खुसी भएका हुन् ।

उक्त एप्सको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् । नेपालमै पहिलोपल्ट मेचीनगर–४ को बाहुनडाँगी बजारमा सञ्चालनमा ल्याइएको छ । जीपीएस स्वीचको अन गर्दै सभामुख घिमिरेले एप्सको उद्घाटन कार्यक्रममा उनले हात्तीलाई लखेट्ने, तर्साउने र पराम्परागत शैलीलाई छाडेर अब सहअस्तित्वका आधारमा हात्तीमैत्री वातावरण निर्माण गरेर मानव–हात्तीबीचको द्वन्द्व क मगर्दै जानु पर्ने बताए । उक्त एप्स बाहुनडाँगीको छोटी भन्सारमा नियन्त्रण कक्ष राखेर सञ्चालनमा ल्याइएको छ ।

समाजका लागि युवा सहकार्य र बर्दियाको उज्यालो नेपालको संयुक्त पहलमा यो प्रविधि नेपालमा पहिलो पटक बाहुनडाँगीमा ल्याइएको वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए । यो प्रविधिका लागि इसिमोडले आर्थिक सहयोग गरेको बताइएको छ । भारतबाट आएका जंगली हात्तीहरु कहाँ डुलिरहेको छ, कता जाँदैछ भन्ने सूचना सर्वसाधारणबाट लिएर आरआरटीका स्वयंसेवी युवाहरुको समूहलाई जानकारी दिने र आवश्यक परेमा नजिकको प्रहरीसमक्ष खवर पुर्याउने कार्य नियन्त्रण कक्षले गर्ने छ ।

गाउँमा हात्ती आएपछि जोकोहीले यो एप्स खोलेर आफनो लोकेसन एट्याच गर्न सक्छन् । जसका कारण नियन्त्रण कक्षमा साइरन बज्ने व्यवस्था मिलाइएको छ । हात्ती गाउँ पसेको सूचना एप्समार्फत साइरनले दिनेछ । यो प्रविधि जीपीएस प्रणालीमा आधारित भएको उज्यालो नेपालका विज्ञ रमेश नेपाललेबताए । एप्स निर्माणमा १० लाख रुपैयाँ खर्च लागेको बताइएको छ ।

मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीको अध्यक्षतामा आयोजित कार्यक्रममा संविधान सभा सदस्य रविन कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उपमेयर मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य विष्णु प्रसाई, भीम खवास लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्