News Portal

धुलाबारीमा भोलिदेखि रोलिङ च्यालेन्ज कप हुँदै

रातोपोस्ट संवाददाता
४३ पटक

झापा, २ कात्तिक । धुलाबारी रोलिङ क्लबले भोलिदेखि अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्ज कप प्रतियोगिता गराउँदैछ । धुलाबारी रोलिङ क्लबका अध्यक्ष नोबेम्बर नेम्वाङले खेल मैदान मर्मत, मैदान सम्याउने, घाँस उमार्ने लगायतका काम सकिएको र प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए ।

दर्शकका लागि बाँसको अस्थायी प्यारापिट निर्माण सम्पन्न भएको छ । स्टेज निर्माण पनि सकिएको छ । यही कात्तिक ३ गतेदेखि १० गतेसम्म धुलाबारी माविको खेल मैदानमा हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ वटा टिमको सहभागिता रहनेछ । क्लबका सचिव महेश खड्काले आठौँ संस्करणको प्रतियोगिता भव्य हुने बताए । प्रतियोगितामा भारतका मानेभन्ज्याङ फुटबल क्लब दार्जिलिङ र सुकुना युनाइटेड फुटबल क्लब सिलिगुडी सहभागी हुने छन् ।

त्यस्तै, नेपालको रेडहर्स फुटबल क्लब इलाम, मोरङको सम्राट स्पोर्टिङ क्लब, सुनसरीको राष्ट्रिय जागृति फुटबल क्लब, नेपाल पुलिस क्लब विराटनगर, सशस्त्र प्रहरी बल पकली सुनसरी र आयोजक रोलिङ क्लब सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल पाउने क्लबका अध्यक्ष नेम्वाङले बताए । प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउँदा विधागत पुरस्कार नगद १५ हजार रुपैयाँ पाउने छन् ।

प्रतियोगिता सम्पन्न गर्न ३५ लाख ३६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक होटल मेची क्राउन रहेको छ । सहयोगी संस्थाका रुपमा मेचीनगर नगरपालिका कार्यालय, मेचीनगर–१० वडा कार्यालय, ९ नम्बर वडा कार्यालय, अर्जुनधारा नगरपालिका, अखिल नेपाल फुटबल संघ (एन्फा) र झापा जिल्ला फुटबल संघ रहेको आयोजकको भनाई छ ।

प्रतिकृया दिनुहोस्