News Portal

इँटाभट्टा फुटबल क्लब फाइनलमा प्रवेश

रातोपोस्ट संवाददाता
१५ पटक

झापा, ८ कार्तिक । इँटाभट्टामा जारी फुटबल प्रतियोगितामा शनिश्चरे फुटबल क्लबलाई पराजित गर्दै  आयोजनक इँटाभट्टा फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा जिल्ला स्तरीय फुटबल प्रतियोगिताको बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा ट्राइब्रेकरमा ३-२ गोल अन्तरले शनिश्चरेलाई पाखा लगाउँदै आयोजकले फाइनल यात्रा तय गरेको हो ।

अत्यन्तै रोमाञ्चक बनेको खेलमा सुरूवाती अग्रता भने शनिश्चरेले लिएको थियो । शनिश्चरेका सौरभ लिम्बूले खेल सुरू भएको दोस्रो मिनेटमा नै  गोल गर्दै टिमलाई अग्रता दिलाए । तर, पहिलो हापको ३७ औं मिनेटमा आयोजकका निशान्त लिम्बूले गोल गर्दै टिमलाई बराबरीमा पुर्याए ।

दोस्रो हापको ४१ औं मिनेटमा सौरव लिम्बूले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता पुनः कायम राखे । तर त्यतीले मात्रै शनिश्चरेको जित सम्भव भएन । आयोजकका रविन राईले खेलको ५९ औं मिनेटमा गोलगर्दै बराबरी बनाए । खेलको निर्धारित समयमा दुवै टिमबाट समान २/२ गोल भएपछि नतिजा ट्राइब्रेकरबाट लिइएको थियो । जसमा आयोजक भाग्यमानी भयो ।

ट्राइब्रेकरमा आयोजककाे तर्फबाट निशान लिम्बू, नितेश राई र महेन्द्र कार्कीले गोल गर्दा शनिश्चरेको तर्फबाट सौरभ लिम्बू र पुजन श्रेष्ठले गोल गरे । आजको खेलमा उत्कृष्ट प्रदर्शनी गर्दै टिमलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका आयोजकका गोल किपर युवराज पुरी घोषित भए । उनले नगद २ हजार १ सय रूपैयाँ प्राप्त गरे ।

अब आयोजकले ह्याप्पी क्लब काँकरभिट्टासंग उपाधिका लागि कात्तिक ९ गते दिउँसो खेल्ने आयोजक इँटाभट्टा फुटबल क्लबका अध्यक्ष मनकुमार लिम्बूले जानकारी दिए ।प्रतियोगिताको विजेता टिमले नगद १ लाख ११ हजार १११ र उपविजेताले ५१ हजार १११ सहित आकर्षक ट्रफी पाउने छ ।
प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीले नगद २ हजार १ सयसहित ट्रफी प्राप्त गर्दा विधागततर्फ पुरस्कृत खेलाडीले जनही ५-५ हजार र सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार पाउने छन् ।

प्रतिकृया दिनुहोस्