News Portal

कमरेडहरू छन- कमरेडहरू छैनन !

बलराम तिमिल्सिना (विप्लव )
९८६ पटक

कमरेडहरू छन- कमरेडहरू छैनन !
**********

उहिलै उहिलै
कमरेडहरू खोज्न
गाउँ जानु पर्थ्यो
गाउँको पनि एकान्त ठाउँ !

अलि पछि कमरेडहरू गाउँभरि भए
गाउँमा अटेसमटेस भएपछि
कमरेडहरूको सम्प्रदाय पनि र मन पनि
कमरेडहरू सहर छिरे
कमरेडहरू सहर कब्जा गर्न भनेर छिरे
अफसोच ,
सहरले कमरेडहरूलाई कब्जा गर्यो !

अहिले
कमरेडहरू सहरभरि छन
सहरका पनि नदी किनारका बस्तीमा हैन
भव्य भव्य दरवारमा छन
नदी किनारका बस्तीहरूमा
कमरेडलाई गाली गर्नेहरू छन !

तपाई सितल निवास जानुस
त्यहाँ कमरेडकी पनि कमरेड हुनुहुन्छ
( तपाई होइसिन्छ पनि भन्न सक्नु हुन्छ)
वहाँ राष्ट्र-माता कमरेड पनि
कुनै वेला कमरेड हुनुहुन्थ्यो !

तपाई बालुवाटार छिर्नोस
त्यहाँ कमरेडका पनि कमरेड हुनुहुन्छ
( तपाई होइसिन्छ पनि भन्न सक्नु हुन्छ )
वहाँ राष्ट्र-काका कमरेड पनि
कुनै वेला कमरेड हुनुहुन्थ्यो
‘छ इन्च छोटा करो ‘
यस्तो लाइनमा हुनुहुन्थ्यो
कुनै वेला ती कमरेड
गोञ्जालोजस्तै थिए !

तपाई खुमलटार जानुस
त्यहाँ झन महा कमरेड हुनुहुन्छ
कुनै वेला वहाँ
अज्ञात विद्रोही हुनुहुन्थ्यो
इतिहासको चक्रवृत्ति व्याज खाएर
कमरेड इतिहासखोर हुनु भएको छ
आफू कमरेड भएका दिन संझदै
वहाँ वेला वेला झस्कनु हुन्छ !

तपाई सिंहदरवार छिर्नुस
वाफ्रे वाफ्रे
त्यहाँ कमरेडहरूकै घुइँचो छ
भोका स्यालजस्ता कमरेडहरू
हातमा फाइल बोकेर
मन्त्रालय चहार्दै हुन्छन
टेवुल पुछ्ने देखि पुछाउँनेसम्म
फाइल ओसार्नेदेखि सदर गर्नेसम्म
त्यहाँ कमरेड नै कमरेड भेटिन्छन !

निर्माण व्यवसायीदेखि
जग्गा दलालसम्म
यतायात व्यवसायीदेखि
मान्छे दलालसम्म
( मान्छे व्यवसायका सवै रुपहरू)
सवैतिर कमरेड नै कमरेड
तर असली कमरेड पत्ता लाग्नु
वर्मझियाको पेडा पसलजस्तै भएको छ !

तपाई कसैगरी नागार्जुन पुग्नु भयो भने
नागार्जुन दरवार निवासीले
तपाईलाई भन्न सक्ने छन-
“मैसापको बिहेमा गएको बखतबाट
म पनि कमरेड भएँ नि !
पैले पो म राजा
ऐले त म पनि कमरेड वा सो सरह
वहाँहरू पनि
कमरेड वा राजा सरह !”

****फ्लासव्याक******

कुनै समय थियो
कमरेड शब्दको ओज थियो
गरिमा थियो , महिमा थियो
‘कमरेड’यो शब्द उच्चारण गर्दा
एउटा प्रेमिल कम्पन छुट्थ्यो
कमरेडहरू
नानीहरूजस्तै प्रिय थिए
आमा-बुवाजस्तै आदरणीय थिए
लोभ- पापबाट मुक्त
अर्कै धातुले बनेका प्राणी थिए ती !

हिजो आज
कमरेड शब्द
आवारा केटाहरूले
या सेना प्रहरीले
रिसाउँदा प्रयोग गर्ने थेगोजस्तै
अपशब्द भएको छ अस्लिल भएको छ !

देशैभरि कमरेडहरू छन
तर
चित्तले खाएको एउटै कमरेड भेट्न मुस्किल छ !

आऊ !
इतिहासखोरहरूको जिब्रोबाट
कमरेड शब्द खोसौं
र असली मानिसहरूलाई फिर्ता दिऊँ

२०७५, मंसिर १२
सल्लाघारी, भक्तपुर

प्रतिकृया दिनुहोस्