News Portal

केपी शर्मा ओलीको तानाशाही निर्णय अस्वीकार्य छः भीम रावल

रातोपोस्ट संवाददाता
१०१२ पटक

काठमाडौं, १६ चैत । नेकपा एमालेबाट निलम्बनमा परेका नेता भीम रावलले केपी शर्मा ओलीको निर्णयलाई तानशाही निर्णय भनेका छन् । उनले यस्तो निर्णय आफूलाई अस्वीकार्य रहेको बताएका छन् ।

आफूमाथि गरिएको कारबाही पार्टी विधान र नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशनविरुद्धको निरङ्कुश र स्वेच्छाचारी कुकृत्य भएको उनको तर्क रहेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बित गरिएको पत्र पठाएका थिए ।

पार्टीको कारबाहीपछि उनले ट्वीट गर्दै भनेका छन्, ‘नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भङ्ग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको यस निर्णयको भर्त्सना गर्दै पूर्णरुपमा अस्वीकार गर्दछु ।’ उनले केपी शर्मा ओलीको यो कदमप्रति डटेर अघि बढ्नेसमेत बताएका छन् ।

प्रतिकृया दिनुहोस्