News Portal

इरानी राष्ट्रपति रईसी र विदेशमन्त्री हुसेनको हेलिकोप्टर दुर्घटनामा मृत्यु

रातोपोस्ट संवाददाता
१३३ पटक

एजन्सी, ७ जेठ । हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । तेहरान टाइम्सले उनीहरूको मृत्यु भएको जनाएको छ । बाक्लो कुहिरोका कारण दुर्घटना भएको सो समाचार संस्थाले जनाएको छ ।

दुर्घटनास्थल तेहरानबाट ६०० किलोमिटर टाढा छ। पहाडी क्षेत्रमा खोजी अभियान सञ्चालन गर्न ४० विभिन्न टोली खटाइएको छ। इरानी रेडक्रस सोसाइटीले पनि हेलिकप्टरमा सवार राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायत जीवित रहेको संकेत नदेखिएको जनाएको छ । इरानी समाचार संस्था तसनिम न्युज एजेन्सीलाई अन्तर्वार्ता दिँदै इरानी रेडक्रस सोसाइटीका अध्यक्ष परि हुसेन कोलिवान्दले हेलिकप्टर दुर्घटनास्थलमा कोही पनि जीवित रहेको संकेत देखा नपरेको उल्लेख गरेका छन् ।

इरानको अर्धसरकारी समाचार संस्था मेहर न्युज एजेन्सीले इरानी राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानलगायत दुर्घटनामा सहिद भएको जनाएको छ । मेहर न्युज एजेन्सीले हेलिकप्टरमा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानसँगै पूर्वी अजरबैजान प्रान्तका गभर्नर मालेक रहमाती, अयोतल्लाह मोहम्मद अली हासेमलगायतका उच्च अधिकारी रहेको जनाएको छ ।

आइतबार अजरबैजानसँगको सीमा क्षेत्रमा बाँधको उद्घाटनपछि फर्किँदै गर्दा राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटनामा परेको हो । राष्ट्रपति रइसीको अवस्थाबारे पनि अहिलेसम्म स्पष्ट रूपमा केही जानकारी आएको छैन । रइसी सन् २०२१ मा इरानको राष्ट्रपति चुनिएका थिए । यसबारे इरानी सरकारी च्यानलले अहिलेसम्म आधिकारिक पुष्टि गरेका छैनन् ।

प्रतिकृया दिनुहोस्