News Portal

भाटभटेनीलाई ४ लाख जरिवाना तिराउने काठमाडौं प्रशासनको आदेश

रातोपोस्ट संवाददाता
३६१ पटक

काठमाडौं, २४ जेठ । निषेधाज्ञाको उल्लंघन गरी सामान बिक्री गर्ने भाटभटेनी सुपरमार्केटको कोटेश्वर शाखालाई चार लाख रुपैयाँ जरिवाना तिराउने आदेश दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधको आदेश उल्लंघन गरेर दिउँसो पसल खोल्ने भाटभटेनीको कोटेश्वर शाखालाई जरिवाना तिराउने आदेश दिएका हुन् ।

सरकारले केहीअघि जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ मा आदेश उल्लंघन भए प्रमुख जिल्ला अधिकारीले जरिवाना तिराउन सक्ने प्रावधान छ । सोही अनुसार भाटभटेनीलाई चार लाख जरिवाना तिराउन आदेश दिएको प्रजिअ पराजुलीले बताए । निषेधाज्ञाको समयमा ग्राहक आएर किनबेच गर्ने गरेको भन्ने स्थानीयबाट गुनासो आएपछि अनुगमन गर्न टोली खटिएको थियो ।

भाटभटेनीले मूल ढोका बन्द गरेपनि अर्को ढोकाबाट ग्राहकलाई जान दिइएको पाएपछि म्यानेजरलाई नियन्त्रणमा लिइएको थियो । निषेधाज्ञाको अवधिमा बिहान ९ बजेसम्म मात्रै किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न पाइन्छ ।

प्रतिकृया दिनुहोस्