News Portal

आज सहिद दिवस मनाइँदै

रातोपोस्ट संवाददाता
४७२ पटक

काठमाडाैं, १६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताएकी छन् । सहिद दिवसका सन्देश जारी गर्दै भण्डारीले सहिदको बलिदानको उच्च मूल्यांकन गर्दै सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण गर्ने सहिदको आकांक्षालाई साकार बनाउन सबैले आआफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्नका लागि यस दिवसले थप प्रेरणा प्रदान गर्ने बताएकी हुन् ।

सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञातअज्ञात अमर सहिदहरूप्रति राष्ट्रपति भण्डारीले श्रद्धाञ्जलि अर्पण गरेकी छन् । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको त्याग, तपस्या र बलिदानबाट राजनीतिक व्यवस्था परिवर्तन भएको बताएका छन् । सहिद दिवसका अवसरमा आइतबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले २००७ को एकतन्त्रीय जहाँनिया राणाशासनविरुद्धको क्रान्ति, २०४६ मा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलन र २०६२-६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा सहिदको त्याग रहेको बताएका हुन् ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ । वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो ।

निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा हरेक वर्ष १० माघदेखि १६ सम्म ‘सहिद सप्ताह’ मनाइँदै आएको छ । र, १६ माघलाई सहिद दिवसको रुपमा मनाइन्छ । विसं १९९७, १० माघमा निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो । यस्तै, सोही वर्ष १३ माघमा सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने १५ माघमा दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

प्रतिकृया दिनुहोस्