News Portal

सुनसान बन्दै झापाको धुलाबारी बजार, व्यापारीहरु पनि अन्यत्र पलायन हुन बाध्य !

रातोपोस्ट संवाददाता
५५६ पटक

झापा, १५ जेठ । दुई दशक अघिसम्म नेपालको हङकङ बजारको रूपमा परिचित झापाको धुलाबारी बजार यतिबेला सुनसान बन्दै गइरहेका छ । गरगहना, लत्ताकपडा, सजावट र घरायसी सामानका लागि स्वदेश तथा विदेशमा प्रख्यात धुलाबारी बजार पछिल्लो समय ओझेलमा पर्दै गएको छ, भने सयौं व्यापारीहरु पनि अन्यत्र पलायन हुन बाध्य भएका छन् ।

कुनै समय चीनबाट सोझै धुलाबारी बजारमा सामान आयात हुन्थ्यो । सस्तो र राम्रो चिनियाँ सामान भारतीय रोजाइमा पर्ने भएकाले घुइँचो नै लाग्थ्यो । सीमानाको यो नेपाली बजारमा नयाँ–नयाँ चल्तीका सामानहरु प्रसस्त पाइने भएका कारण भारतीय चर्चित कालाकारदेखि सर्वसाधारणको बाक्लै भीड लाग्ने गर्दथ्यो । तर, धुलाबारीको त्यो साख धेरै कालसम्म टिक्न सकेन । अहिले सीमा वारी र पारीका उपभोक्ताको रोजाइ सीमा पारीकै बजार भएको छ ।

धुलाबारीका पुराना व्यापारी रामनीवास अग्रवाल भन्छन्, ‘ती सामान नेपालभन्दा भारततर्फ सस्तो हुँदा हिजोआज सीमापारीका ग्राहक यहाँ आउँदैनन् ।’ कुनैबेला खुबै चम्किएको धुलाबारी अहिले निकै खस्किएको बताउँदै उनले भने, दैनिक लाखौं करोडौंको व्यापार हुने बजारमा अहिले त कहिलेकाही बोनी पनि नहुने गरेको बताउँछन् ।

चीनबाट सोझै धुलाबारीमा सामान आयात हुने गथ्र्यो र सोही सामान खरिद गर्न भारतलगायत अन्य देशका नागरिक (पर्यटक)हरु यँहा आउने गर्थे । जसका कारण धुलाबारी व्यपारको लागि धपक्कै बलेको थियो । तर, आजभोलिचीनबाट सामान सोझैभारत आयत हुन थालेसंगै धुलाबारी बजार आउने ग्रहाकहरु भारत तर्फ नै जान थालेको धुलाबारीका संस्थापक व्यापारी पन्नालाल जैन बताउँछन् ।

यता मेची उद्योग वाणिज्य संघका आध्यक्ष ऋषिराम तिम्सिनाका अनुसार व्यवसायीसंगै स्थानीय तह, राजनीतिक दल र राज्य संयन्त्रको सहयोग मिले धुलाबारीको साख पुनः फर्काउन सकिने बताउँछन् । उनी भन्छन्, ‘पहाडसँग जोडिएका बाटा र भद्रपुर जोड्ने बाटोलाई जोड्न सके व्यापार पुनः चम्किन सक्छ।’ र त्यसको लागि मेची उद्योग वाणिज्य संघ लागि परेको उनी बताउँछन् ।

करोडौंको व्यापार हुने यस धुलाबारी बजारमा आएको मन्दीले यहाँको व्यपारी र लगानीकर्तालाई मात्रै असर गरेको छैन । यसले समग्र देशकै आयस्रोतमा असर पुर्याएको छ । तसर्थ यस बजार र प्रति सम्बन्धित निकायको बेलैमा ध्यान जानु जरुरी रहेको छ ।

प्रतिकृया दिनुहोस्