News Portal

‘समृद्ध समाज बनाउने मेरो परिकल्पना’

रातोपोस्ट संवाददाता
४५८ पटक

झापा, २३ फागुन । सुष्मा कार्की डोली मेचीनगर नगरपालिका वडा नं ९ की दलित महिला वडा सदस्य हुन् । सामाजिक क्षेत्रमा रहेर सक्रियताका साथ काम गर्दै आएकी उनी गत निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधित्व गर्दै वडा सदस्यमा निर्वाचित भइन् । जनप्रतिनिधिका रुपमा सिंगो वडाको नेतृत्व गर्दै गर्दा के कस्ता चुनौती र अवसर उनका सामु आए ? रातोपोष्ट पत्रिकाले उनका केही अनुभवहरु बुझ्ने प्रयास गरेको छ । प्रस्तुत छ उनीसँगको कुराकानी :

१. तपाईं जनप्रतिनिधि भएपछि समुदायको हितमा के के काम भए ?

-सुरुमा त म जनप्रतिनिधिमा निर्वाचित गराउनु हुने आम वडावासीहरुलाई म नमस्कार भन्न चाहन्छु । मलाई सुरुमा केही काम गर्दा गर्न सकिँदैन कि जस्तो लाग्थ्यो । तर, सबैकुरा सिकाइ हो । अहिले आत्मविश्वासका साथ काम गर्दा असम्भव केही रहेनछ भन्ने लाग्छ ।

सुरुसुरुमा ठुल-ठुला मानिसका अगाडि बोल्न सक्दिन कि भन्ने भएर कुरा गर्न गाह्रो हुन्थ्यो । तर, अहिले आफ्ना र मेरो समुदायका बारे कुरा राख्न सक्ने भएको छु । मैले चिनाउने र चिन्ने मौका पाएँ । मैले धेरै कुरा सिक्ने मौका पाएँ । पछि परेको समुदायले पनि अवसर पाए केही गर्न सक्दा रहेछन् जस्तो लाग्यो । अवसर पाए गर्न सकिने रहेछ भनेर हिम्मत आएको छ । यस ठाउँमा आएपछि असल व्यक्तिको आँट, साहस, हौसला र प्रेरणाका कारण गर्न सकिने रहेछ जस्तो लाग्यो ।

त्यस्तै, हाम्रो वडामा जिम्मेवारी नै तोक्ने काम नभए जनप्रतिनिधि भएपछि सोझै जिम्मेवारी बढ्ने भई नै गयो । महिलाहरुको कार्यक्रम आउँदा हामी महिला सदस्यहरुलाई अघि बढाएर वडाले जिम्मेवारी दिने गरेको छ । कतिपय ठाउँमा महिलाहरुसँग गएर छलफल गर्ने काम पनि गरिरहेका छौँ ।

२. ‘राजनीतिक, आर्थिक, विकासका खाकाहरु निर्माण गर्ने क्रममा दलित महिलाहरुलाई पछि पारिन्छ’ भन्ने सुनिन्छ । यथार्थ यस्तो हो र ?

-म राजनीतिक क्षेत्रमा आउनु अगाडि सामाजिक सेवामा सक्रिय भएर लागेकी महिला हुँ । गाउँघरमा कसैलाई साह्रो गाह्रो, अप्ठ्यारो पर्दा म आफैँ गएर सहयोग गर्ने गरेकी थिएँ । मेरो सानैदेखिको सपना समाजसेवा गर्नु थियो । अनि समाजसेवा गर्ने हुटहुटीले गर्दा र सबै गाउँका आमाबुबाको बिश्वासका कारण यो वडामा कसलाई चुनावमा उठाउने भन्दा मेरो नाम आएको हो । सबैले भने तिमीले समाजका लागि जे काम गरेकी छौ, त्यही काम जनप्रतिनिधि भएर गर, भनेर । सबैको आग्रहलाई स्वीकार्दै अनि समाजमा केही गर्ने आत्मविश्वासका कारण म जनप्रतिनिधि भएँ । म जे छु आम वडाबासीका कारण छु ।

३. आफ्नो कार्यकालमा यस वडालाई कसरी समृद्ध बनाउने भनेर योजना बनाउनुभएको छ ? योजना, भिजनका बारे पनि सुनौं न ।

-यहाँ समुदायका धेरै नागरिकहरु बेरोजगार छन् । पढेर पनि रोजगार नपाउने यथार्थ हाम्रो समाजमा नौलो होइन । योग्य हुँदाहुँदै पहुँच नपुगेर बेरोजगार भएकाहरु पनि छन् । उनीहरुको नेतृत्व गर्दै सबैलाई रोजगार दिलाउन मन छ । हेरौं कतिको सम्भव छ । सँगै समुदायमा अझै पनि चेतनाको स्तर न्यून छ । समाजमा जनचेतना फैलाउँदै समृद्ध समाज निर्माण गर्ने योजना बनाएकी छु ।

४. दलित जनप्रतिनिधिका रुपमा नेतृत्व गरिरहँदा कतिको अप्ठ्यारो महसुस गर्नुभएको छ ?

-मेरे परिवार बुझ्ने छन् । छोराछोरी ठुल्ठुला भइसके । तर पनि काम गर्दै जाँदा सबै जनामा दलित परिवारमा आफ्नै लागि मात्र होस् भन्ने चाहना रहेको पाइन्छ । म भन्दा ऊ अझ पीडित छ, अहिले उसलाई दिउँ पछि मेरो पालो आउँछ भन्ने भावना भएको खासै पाइँदैन । त्यसैले जति गर्दा पनि चित्त बुझाउन नसकिने होकि भन्ने पनि लाग्छ बेलाबेला । तर पनि हरेस चाहिँ लागि हालेको छैन । वास्तविक पीडितको पक्षमा काम गरेर देखाउन मन छ ।

त्यसैगरी, पहिले र अहिलेलाई नियाल्ने हो भने दलित समुदायको अवस्था पनि धेरै फरक छ । हिजो समाजमा छिछि.. र दुर्दुरको अवस्था थियो भने अधिकांश परिवारमा शिक्षाको कमी थियो । जातिय छुवाछुतको चपेटामा थियो समाज । आज अवस्था धेरै फेरिइसकेको छ । जातिय छुवाछुतबाट समाज निकै माथि उठिसकेको छ ।

म दलितको नेतृत्व गर्दै जनप्रतिनिधि भएर आइसकेपछि दलित तथा जनजाति महिलाहरूलाई कृषि सम्बन्धी विभिन्न तालिम, सिलाई बुनाई सम्बन्धी तालिमहरू सञ्चालन गरेर उहाँहरूलाई व्यावसायिक बनाउने प्रयास पनि गरिरहेकी छु । फलस्वरुप अहिले धेरै दिदीबहिनीहरू व्यावसायिक पनि बन्नुभएको छ । गर्व लाग्छ, एउटी सामान्य महिला भएर एउटा जिम्मेवर ठाउँमा रहेर काम गर्न पाउँदा ।

५) दलित महिला सदस्य भएर आएपछि के-के परिवर्तन पाउनु भयो ?

-दलित परिवार आफैँ पछि भएर बस्ने गरेको मैले पाएकी छु । कुनै विवाह ब्रतबन्ध जस्ता सामाजिक कार्यमा जाँदा पछि बस्ने, केही होइन्छ भन्ने डर मान्ने गरेको देख्छु । यस्ता प्रकारका डर हटाउन स्थानीय सरकारले कार्यक्रम नै बनाएर लान सक्यो भने राम्रो हुनेथियो जस्तो लाग्छ । सबै जातजाति समान हुन भन्ने सन्देश दिने खालको कार्यक्रम बनाउनुपर्यो । दलित समुदायका परिवारमा पढेलेखेका भाइबहिनीहरु छन् । उनीहरुलाई सरकारी क्षेत्रमा विशेष प्राथमिकता दिनुपर्छ जस्तो लाग्छ । सँगै टोलटोलमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस्