News Portal

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडिन्

रातोपोस्ट संवाददाता
७१ पटक

काठमाडौं, २१ साउन । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएकी छन्। आरक्षणविरुद्धको आन्दोलनले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिएको बीबीसीले जनाएको छ।

राजीनामा दिएपछि प्रधानमन्त्री हसिनाले देश पनि छोडेको बीबीसी समाचारमा उल्लेख छ। प्रधानमन्त्री हसिना बहिनीसँगै देश छाडेकी हुन्। प्रधानमन्त्री हसिना चढेको हेलिकोप्टर भारतर्फ लागेको बताइएको छ। बीबीसीका अनुसार प्रधानमन्त्री हसिना भारतको अगरतालातर्फ गएकी हुन्। अगरताला भारतको त्रिपुरा राज्यको राजधानी हो।

प्रदर्शनकारीहरू सोमबार प्रधानमन्त्री निवासमै छिरेका छन्। निवासमै छिरेपछि असुरक्षित महसुस गरेकी हसिनाले बहिनीसँगै देश छाडेको स्रोतलाई उद्धृत गर्दै एजेन्सीहरूले उल्लेख गरेका छन्। यसैबीच बंगलादेशका सेना प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ। देशको अवस्थाबारे जानकारी दिन उनले देशबासीका नाममा सम्बोधन गर्ने भएका हुन्।

जुलाई पहिलो सातादेखि बंगलादेशमा आरक्षणविरोधी आन्दोलन सुरू भएको थियो। उक्त आन्दोलन अहिले सरकारविरुद्ध मोडिएको छ। आन्दोलनकारीको माग केही सम्बोधन गरिए पनि पछिल्लो समय प्रधानमन्त्री हसिनाको राजीनामा माग गर्दै आन्दोलन उग्र बनेको हो। बंगलादेशमा जारी आन्दोलनमा हालसम्म तीन सयको मृत्यु भएको छ।
सन् २००९ देखि शेख हसिना बंगलादेशको निरन्तर प्रधानमन्त्री बन्दै आएकी छन्।

प्रतिकृया दिनुहोस्