News Portal

स्वास्थ्य बीमाको रकम पाँच लाख पुर्याउने श्वास्थ्यमन्त्री पौडेलको घोषणा

रातोपोस्ट संवाददाता
५५ पटक

काठमाडौं, २७ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई बढाएर कम्तिमा ५ लाख पुर्‍याउने घोषणा गरेका छन्।

आइतवार मन्त्रालयको प्राथमिकता र कार्य योजना सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन्। स्वास्थ्य बिमा कार्यक्रमलाई आम नागरिकको पहुँचमा पुर्‍याउने गरी त्यसको नीतिगत र कानूनी व्यवस्थापनमा पुनरावलोकन पनि गर्ने गरी कार्ययोजना तय गरिएको मन्त्री पौडेलले बताए।

त्यसैगरी सरकारले बीमा सेवालाई गुणस्तरीय र यसको प्रक्रियालाई सहज बनाउन पनि लागिपर्ने प्रतिवद्धता उल्लेख गरिएको छ। मन्त्री पौडेलले सरकारले भिन्नभिन्न कार्यक्रममार्फत निःशुल्क वा सहुलियत रुपमा स्वास्थ्य सेवा दिइरहेकामा सबै सेवा र सामाजिक सुरक्षाका कार्यक्रमलाई विमाको छाता भित्र राख्न आवश्यक प्रवन्ध गरिने पनि बताए।

उनले भने, ‘स्वास्थ्य बिमा कार्यक्रम अहिलेसम्म २८ प्रतिशत नेपाली नागरिकमात्रै विमामा आवद्ध भएको स्थिति छ। त्यसमा पनि नवीकरण घटदो क्रममा छ। अहिलेको बिमा प्रणालीमा आम नागरिकको विश्वास घटिरहेको स्थिति छ। स्वास्थ्य बिमा ऐनले व्यवस्था गरेअनुसार स्वास्थ्य विमामा आवश्यक सुधार र प्रक्रियालाई सहज बनाउँदै यसलाई सबै नागरिकको पहुँचमा पुर्‍याउने गरी हामीले निम्न कार्यक्रमहरु प्रश्ताव गरेका छौं। बीमाको हालको दायरालाई बढाएर यो मेरो प्रश्ताव हो कम्तीमा ५ लाख बराबरको बनाउनु पर्छ भन्ने प्रश्ताव रहेको छ।’

स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापनका लागि एकीकृत स्वास्थ्य ऐन तर्जुमा गर्ने पनि बताए। मन्त्री पौडेलले संघ अन्तर्गतको अस्पतालहरुको काम कारबाहीमा एकरुपता ल्याउन र व्यवस्थित गर्नका लागि सो कानूनी प्रवन्ध गर्न लागिएको बताए।

प्रतिकृया दिनुहोस्