News Portal

पुरुषोत्तम र रञ्जितले जिते राष्ट्रिय बुद्धिचालको उपाधि

रातोपोस्ट संवाददाता
८३ पटक

झापा, १० भाद्र । छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि पुरुषोत्तम चौलागाईं र रञ्जित राईले जितेका छन् । झापाको मेची नगरनगरपालिका काँकडभिट्टामा भएको प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरी उपाधि जित्दा १९३७ रेटेड पुरुषोत्तमले सात चरणको क्लासिकल खेलमध्ये ५ जित र २ बराबरी खेलेका थिए । अपराजित भएर ६ अंक जोडेका उनले ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् ।

राजेन्द्र राईले ५.५ अंकसहित दोस्रो भए । उनले २५ हजार पाए । समान ५.५ अंक जोडेका धिरेन राई डाइरेक्ट इन्काउन्टर, बुकोल्ज वान टु र मोस्ट विन नियमका आधारमा तेस्रो स्थानमा रहे । उनले १५ हजार पाए । आशिष फुयाँल चौथो भए । उनल १२ हजार पाए । पूर्व विजेता सीएम कृष्ण थापा पाचौं बन्दै १० हजार, नीलम बस्नेत छैटौं भई ८ हजार, विकास मैनाली सातौं भएर ६ हजार, प्रेम लिम्बू आठौं, सुरोज महर्जन नवौं र वलिमान गुरुङ दसौं हुँदै जनही ५ हजार पुरस्कार जितेका छन् ।

१७०० मुनि रञ्जित राई विजेता भए । व्यक्तिगत १६९९ रेटिङवाट खेल सुरु गरेका उनले ६५.२ रेटिङ्ग बढाए । उनले ५० हजार पुरस्कार पाए । ९ चरणको प्रतिस्पर्धामा रामहरि कार्की दोस्रो भए । उनले २५ हजार र कपिल गुरुङ तेस्रो भएर १५ हजार पुरस्कार पाए । महिला खेलाडी पूजा भण्डारी चौथो स्थानमा भइन् । उनले १२ हजार पाइन् । शिवम् कुमार बिक पाँचौं भए । उनले १० हजार पाए । रोशन खड्गी छैटौं, कृष्णप्रसाद सिग्देल सातौं, सुरज सिंह आठौं, खिलराज राई नवौं र राजन पहाडी दसौं स्थानमा विजयी भए ।

उपाधि जितेका दुवैजना आगामी डिसेम्बर १३ देखि २२ सम्म दुवइमा हुने एशियन एमेच्युर चेस टुनामेन्टमा भाग लिनेछन् । विजेताहरुलाई कोशी प्रदेशका सांसद गोपाल तामाङ, नाइट चेस क्लबका अध्यक्ष विश्वविजय घिमिरे, नेपाल राष्ट्रिय बुद्वीचाल महासंघका अध्यक्ष हिराकाजी महर्जन लगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा क्लबले प्रतियोगितालाई भव्य र सफल पार्न सहयोग गर्ने पत्रकार मुक्ति पौडेल र युवराज आचार्यलाई सम्मान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि सांसद तामाङ, कोशीका पूर्व सांसद श्रीप्रसाद मैनाली, बुद्वीचाल महासंघका अध्यक्ष महर्जन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगिताको मुख्य प्रायोजकमा स्थानीय पशुपति इङ्लिश बोडिङ स्कुल रहेको थियो भने संरक्षकमा मेचीनगर नगरपालिका र विभिन्न सामाजिक संघसंस्थाले सहयोग गरेको थियो ।नाइट चेस क्लबका अध्यक्ष विश्वविजय घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष राजु पौडेल र सञ्चालन महासचिव राजेश राउतले गरेका थिए ।

प्रतिकृया दिनुहोस्