News Portal

सुन्दरहरैँचामा बगानभित्र २ नाबालिका मृत्यु प्रकरण : आमा ५ दिनपछि विर्तामोडमा भेटिइन्

रातोपोस्ट संवाददाता
४० पटक

झापा, १९ भदौ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका २ नाबालिकाकी आमा झापामा फेला परेकी छन् । मृत फेला परेका १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्कीकी आमा अस्मिता न्यौपानेलाई प्रहरीले बुधबार बिहान फेला पारेको हो । घटना भएको ५ दिनपछि बिर्तामोडस्थित सडकमा अस्वस्थ्य अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको छ ।

प्रहरीका अनुसार उनको शारीरिक अवस्था निक्कै कमजोर छ । अस्मिताको उपचार सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । आमा अस्मिताले सँगै लिएर गएको भनिएका आइका र अस्मिता गत शनिबार दिउँसो मृत फेला परेका थिए । तर, आमाको अवस्था हालसम्म अज्ञात थियो ।

स्थानीय र प्रहरीले निरन्तर खोजी गरिरहे पनि फेला पार्न सकेका थिएनन् । अस्मिता धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन् । उनीहरुका नाबालिका छोरीहरु आइका र अपर्णा सुन्दरहरैँचा–७ का स्थानीय नारायण न्यौपानेको केराघारीभित्र मृत फेला परेका थिए ।

पत्नी र २ छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा अर्जुन बस्दै आएका थिए । नजिकै नयाँ घर पनि बनाउँदै थिए । निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुनसँग पत्नीको विवाद भएपछि २ जना नाबालिका छोरीलाई लिएर अस्मिता बेपत्ता भएको जानकारी प्रहरीले पाएको थियो । नाबालिकाहरु भोलिपल्ट मृत फेला परे पनि आमा हालसम्म बेपत्ता थिइन् ।

प्रहरीका अनुसार अस्मिताले ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको अर्जुनले बताएका छन् । तर, अस्मिता भने जीवितै रहेको पुष्टि भएको छ । उनले प्रयोग गर्ने मोबाइल नाबालिकाको शवनजिकै फेला परेको थियो । अस्मिताले म्यासेज पठाएको हो कि हैन भनेर यकिन भइसकेको छैन ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टमपछि दुवै नाबालिकाको शवको अन्त्येष्टि गरिसकिएको छ । केरा बगानभित्र दिदीले बहिनीलाई अँगालो हालेको अवस्थामा शव फेला परेको थियो ।

प्रतिकृया दिनुहोस्