News Portal

समदर्शीलाई शिक्षा पत्रकारिता पुरस्कार

रातोपोस्ट संवाददाता
९८७ पटक

झापा । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३औँ अन्तर्राष्ट्रिय साक्षरशता दिवसको अवसरमा अर्जुनधारा नगरपालिकाले पत्रकार रमेश समदर्शी राईलाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार समदर्शीलाई आज शनिश्चरे माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा नगदसहित सम्मान गरिएको हो ।

न्युज सञ्जाल डटकमका सम्पादक समदर्शीलाई शैक्षिक उन्नयन तथा सामाजिक रुपान्तरणमा पुर्याएको योगदानको मूल्यांकन गर्दै शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको नगरपालिकाले उल्लेख गरेको छ । पुरस्कृत तथा सम्मानित समदर्शीलाई संघीय सांसद पवित्रा निरौला खरेल, नगरपालिकाका प्रमुख हरिकुमार राना, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, शिक्षा शाखा अधिकृत जानुका गुरागाईंले सम्मानपत्र, नगद, मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा अनिवार्य अवकाश पाएका शिक्षकहरु भैरव पौडेल, केशव घिमिरे, इन्द्र भण्डारी, हेम बहादुर कार्की र लीलाधर खतिवडालाई पनि सम्मान गरिएको थियो ।

अर्जुनधारा १ स्थित गणेश आधारभूत विद्यालयका प्रअ रामकुमार अछामीलाई मरणोपरान्त सम्मान प्रदान गरिएको छ ।त्यस्तै, वर्ष उत्कृष्ट शिक्षकतर्फ गणेश आधारभूत विद्यालयका तेजकुमार बस्नेत, वाल शिक्षकतर्फ भानु आधारभूत विद्यालयकी दुर्गा गिरी र उत्कृष्ट कर्मचारीतर्फ जनता माविका बलबहादुर गिरीलाई पनि नगरपालिकाले नगदसहित सम्मान व्यक्त गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले स्वागत गरेको कार्यक्रममा ११औँ राष्ट्रपति रनिङ शिल्डको छनौटतर्फ नगरमा प्रथम भएका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिनुुका साथै कक्षा ५, ८ र एसइइमा उत्कृष्ट अंक ल्याउने सामुदायिक र संस्थागत विद्यालयका छात्रछात्रालाई नगदसहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीले गीत र नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै संघीय सांसद खरेलले आजको शिक्षाको आवश्यकता वैज्ञानिक र प्राविधिक शिक्षा भएकाले त्यसैअनुरुप विकास गरेर अघि बढनु जरुरी रहेको औँल्याइन् । शिक्षाको उज्यालोबाट वञ्चित बालबालिकालाई विद्यालय ल्याउन, ल्याइएका विद्यार्थीलाई टिकाउन र पहुँच भएका विद्यार्थीलाई पनि स्तरीय शिक्षा दिन चुनौति रहेको भन्दै उनले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि केन्द्रित हुन शिक्षक शिक्षिकालाई निर्देशन दिइन्

नगरपालिकाका मेयर हरिकुमार रानाले नगर विद्यालयको पूर्वाधार विकासमा लागेकाले शिक्षकहरुले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा लाग्नुपर्ने बताए । विद्यालयको पूर्वाधार व्यवस्थापनमा बर्सेनि नगरले बजेट विनियोजन गरिरहेको दोहोर्याउँदै मेयर रानाले शैक्षिक गुणस्तरलाई पाखा लगाएर फेरि पनि पूर्वाधारको कुरा लिएर नगरपालिका धाउने प्रवृत्तिको अन्त्य गर्न उद्घोष गरे ।

सामाजिक विकास समितिका संयोजक दिलिप गुरुङले सञ्चालन गरेको कार्यक्रममा अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई, अर्जुनधारा नगर प्याव्सन अध्यक्ष रुद्र सिटौला, नेपाल शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष पुण्य सुवेदी र सम्मानित शिक्षकका तर्फबाट भैरव पौडेलले आफ्ना भनाइ राखेका थिए ।

प्रतिकृया दिनुहोस्