News Portal

झापामा पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आउँदै

रातोपोस्ट संवाददाता
१२८९ पटक

झापा। झापाको बिर्तामोडमा बीएन्डसी समूहको लगानी रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले पुस १६ देखि आफ्नो सेवा सुरु गर्ने भएको छ । अत्याधुनिक प्रविधिसहित स्थापना गरिएको अन्तर्राष्ट्रियस्तरको क्यान्सर अस्पताल झापामा सेवा सुरु गर्न लागेको हो । यो दक्षिण एसियामै पहिलो अत्याधुनिक प्रविधिको अस्पताल हो ।

अस्पतालले नेपालमै पहिलोपटक नयाँ प्रविधि भित्र्याएको कार्यकारी निर्देशक दुर्गा प्रसाईंको दाबी छ । अस्पतालमा चार सय करोड लगानी गरिएको उनले बताए । अस्पतालमा क्यान्सरका बिरामीलाई एक मिनेटमा रेडिएसन दिन सक्ने ‘ट्रयू बिम लिनियर एक्सेलेरेटर’ मेसिन पहिलोपटक नेपाल भित्र्याइएको प्रसाईंको दाबी छ ।

उनले यो अस्पताल दक्षिण पूर्वीएसियाकै नमुना भएको दाबी गरेका छन् । क्यान्सरको अवस्था जाँचका लागि ‘पेट सिटी स्क्यान’ म्यासिन पनि अस्पतालमा ल्याइएको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्र यादवले जानकारी दिए । ‘यो प्रविधि नेपालमै पहिलो हो’, उनले भने, ‘यसका लागि दिल्ली वा सिंगापुर जानुपथ्र्यो । अब त्यो बाध्यता हट्यो ।’ उनी यसअघि दिल्लीस्थित मेदान्त अस्पतालमा कार्यरत थिए ।

यस्तै, अस्पतालमा महिलाको स्तनक्यान्सर पत्ता लगाउन अत्याधुनिक प्रविधिसहितको डिजिटल थ्रीडि म्यामोग्रामसमेत ल्याइएको छ । प्रसाईंले नै सञ्चालन गरेको बि एण्ड सी अस्पताल हाताभित्र रहेको यो अस्पतालमा शल्याक्रियाका लागि पाँचवटा मोडुलर शल्याक्रिया कक्ष रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले सेवा सुरु गरेको दिन पहिलो सेवाग्राहीलाई निःशुल्क रेडिएसन दिइने निर्देशक प्रसाईंले बताए । ‘हामीले अस्पताल सुरु गर्दा सामाजिक उत्तरदायित्वलाई पनि ख्याल गर्नुपर्छ’, उनले भने, ‘अस्पताल सुरु भएको अवसरमा हामी एकजना बिरामीको सम्पूर्ण खर्च आफैं ब्यहोर्छौं ।’ नेपालका विभिन्न क्षेत्रसँगै भारत, वंगलादेश भुटानसहित दक्षिण एसिया नै अस्पतालको सेवा क्षेत्र रहेको प्रसाईंले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्