News Portal

मेचीनगरमा ४ सय ५० घन लिटरको खानेपानी टेंकीको शिलान्यास

रातोपोस्ट संवाददाता
१२५ पटक

झापा, २६ असार । झापाकाे मेचीनगर –५ स्थित सिर्जनाचोकमा ४ सय ५० घन लि. क्षमताको ओभरहेड टेंकी निर्माण हुने भएको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले बिहिबार एक कार्यक्रमका बीच ओभर हेड टेंकीको शिलान्यास गरेको हो । काँकरभिट्टा सहलगानी अन्तरर्गत निर्माण हुने उक्त ओभर हेड टेंकीको शिलान्यास संघीय सांसद एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गरे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शर्माले मेचीनगरको दिगो विकासको लागि यहाँका सबै राजनीतिक दल, स्थानीय सरकार, संघीय र प्रदेश सांसदहरु एक मत भएर अघि बढ्ने गरेका बताए । उनले मेचीनगरको दीगो विकासका लागि दीर्घकालिन योजनाको खाका तयार गरेर अधि बढ्नु पर्ने धारणा समेत राखे । शर्माले खानेपानीको ओभरहेड टेंकी निर्माणको लागि ५ करोड बजेट रकमान्तर भएर आएको भन्दै ढुक्क भएर काम गर्न निर्माण ब्यवसायी र समितिलाई आश्वस्त पारेका थिए ।

कार्यक्रममा संविधान सभा सदस्य एवम् मेचीनगरपालिकाका संस्थापक मेयर रविन कोइरालाले मेचीनगरको दीगो विकासकोलागि आफ्नो कार्यकालमा गुरु योजना बनाएको भए पनि त्यो कार्यान्वयन नभएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । २०७२ सालमा जारी भएको संविधान प्रयोगका क्रममा देखिएका केही जटिलता, उल्झनहरुलाई समाधान गर्न संविधान संसोधन गर्नुको विकलप नभएकोले आज राष्ट्रिय सहमतिको सरकारको आवश्यक भएको उनले बताए ।

मेचीनगरनगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मेचीनगरको दीगो विकासकोलागि गुरु योजना बनाउने काम अघि बढाएको बताए । उनले भने,‘हालसम्म त गुरु योजना बनेको छैन । तर अव हामी खाका कोर्ने तयारीमा छौं ।’ मेचीनगरमा बृहत खानेपानी निर्माण पछि नगरका सम्पूर्ण नगरवासीलाई शुद्ध खानेपानी पुर्याउन सकिने उनको भनाई थियो । मेचीनगरको उत्तरी खण्ड, बाहुनडाँगीका केही भाग, धाइजन र ज्यामिरगढी क्षेत्रमा पानी पुरर्याउन संघीय र प्रदेश सरकारको सहयोग लिएर अघि बढ्ने उनले बताए ।

सो अवसरमा नेपाली काँग्रेसका जिल्ला उपसभापति केशवराज पाण्डे, मेचीनगरपालिकाकी उपमेयर मिना पोख्रेल उप्रेती, नेपाली कांग्रेस क्षेत्रीय सभापति इन्द्र बहादुर बुढाथोकी, नेकपा एमालेका मेचीनगर अध्यक्ष राजु कार्की, नेकपा माओवादी केन्द्रका मेचीनगर अध्यक्ष राजन चिमरिया लगायतले बोलेका थिए । खानेपानी कार्यालयका प्रमुख दीपक पोखरेलले १० करोड ४८ लाखको लागतमा ३० महिनामा सम्पन्न हुने गरि ग्लोवल वितेश जेभिलाई ठेक्का सम्झौता भएको बताए । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रोहित बुढाथोकीको सभापतित्व रहेको कार्यक्रममा उपाध्यक्ष गोविन्द गिरीले स्वागत गरेका थिए भने सञ्चालन सचिव विशाल तामाङले गरेका थिए ।

प्रतिकृया दिनुहोस्