News Portal

कलाकार केसाङ लामालाई सुसेली प्रतिभा पुुरस्कार

रातोपोस्ट संवाददाता
१०० पटक

झापा, ८ साउन । सुसेली साहित्यिक परिवार काँकरभिट्टाले पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर-६, काँकरभिट्टा स्थित खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा मंगलबार एक कार्यक्रमको आयोजना गरी कलाकार केसाङ लामालाई सुसेली प्रतिभा पुरस्कारबाट सम्मानित गरिएकाे हाे ।

साहित्यिक परिवारले हरेक वर्ष प्रदान गर्ने सुसेली प्रतिभा पुरस्कार यो वर्ष कलाकार लामालाई पुरस्कृत तथा सम्मान गरेको छ । कलाकार लामा लामो समयदेखी कलाकारीता माध्यमबाट समाज रुपान्तरण अभियानमा लागिरहेका छन् । कलाकार लामालाई कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. जिवेन्द्र देव गिरी, सुसेली साहित्यिक परिवारका अध्यक्ष पुन्यप्रसाद खरेल लगायतले नगद ११ हजार रुपैयाँ, सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरे । सोही अवसरमा वरिष्ठ अधिवक्ता लीला उदासी, मेचीनगर नगरपालिकाका मेयर गाेपालचन्द्र बुढाथोकी, पत्रकार चन्द्र भण्डारी, समाजसेवी राम कट्टेल पश्चिम बंगाल विश्वविद्यालयका विभागिय प्रमुख कृष्णराज घतानी लगायतले स्व. खरेलकाे जीवनी बारे चर्चा गरेका थिए ।

सुसेली साहित्यिक परिवारका उपाध्यक्ष केन्द्रप्रसाद भट्टराईले स्व. खरेलकाे नाममा झ्याउँरे गीत प्रस्तुत गरेका थिए । साेहि अवसरमा स्व. खरेलकाे ५०० पेजकाे स्मृति ग्रन्थ लाेकार्पण गरिएको थियाे । स्मृति ग्रन्थका विषयमा उनका भाइ दार्जिलिङ निवासी डा.दशरथ खरेलले प्रकाश पारेका थिए । दार्जिलिङका कवियत्रीहरू विमला प्रधान जाेशी, भुमिका राई लगायतले कविता बाचन गरेका थिए । त्यसैगरी स्मृति ग्रन्थकाे समीक्षा साहित्यकार भुवन सुब्बाले गरेकी थिइन् । यस्तै स्व.खरेलले रचना गरेकाे गीत नाति साहिकिरण लम्सालले ८ मिनेटकाे प्राेजेक्टर मार्फत सार्वजनिक गरेका थिए ।

स्व. खरेलकी छाेरी जयन्ती खरेलले सुसेली साहित्यिक परिवारलाई बुबाकाे नाममा अक्षयकाेष स्थापना गर्न १ लाख रूपैयाँकाे चेक अध्यक्ष पुन्यप्रसाद खरेललाई हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा बाेल्ने अधिकांश वक्ताहरू स्व. खरेलप्रति भावविह्वल बनेका थिए । सुसेली साहित्यिक परिवारका अध्यक्ष पुन्यप्रसाद खरेलकाे अध्यक्षता, स्व. खरेलकी धर्मपत्नी पार्वती खरेल, जयन्ती खरेल, चन्दा खरेल र प्रयास खरेल कार्यक्रमकाे प्रायाेजक रहेका थिए । स्वागतसहित स्व. खरेलका विषयमा चर्चा प्राज्ञ एवम् सुसेली साहित्यिक परिवारकी सदस्य शुभद्रा भट्टराईले गरेकी थिइन् । कार्यक्रमकाे सञ्चालन सुसेली साहित्यिक परिवारका सचिव कनक कार्कीले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्