News Portal

तोरी खेती गर्ने मेचीनगरका किसानलाई २६ लाख भन्दाबढी अनुदान

रातोपोस्ट संवाददाता
४७ पटक

झापा, १७ असार । मेचीनगर नगरपालिकाको तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी बनेको छ । आर्थिक वर्ष २०८०/८१ मा नगरका पन्ध्र वटै वडाका रहेका किसानलाई तोरी खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत अनुदान दिने निर्णय गरेको थियो । जसमा नगरका सबै वडाबाट सहभागी ८३३ किसानलाई अनुदान बापत २६ लाख ८३ हजार ५० रुपैयाँ उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

कृषि प्रधान देश भए पनि पछिल्लो समय कृषि पेसा प्रति नागरिकको आकर्षण घट्दै गइरहेको छ । खेतीपातीबाट किसानहरू निराश छन् यसलाई थोरै भए पनि हौसला दिन आफूहरूले किसानलाई अनुदानको व्यवस्था गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । उनले मेचीनगर क्षेत्रमा हुने बालीहरूलाई उत्पादनसँग जोड्दै किसानलाई आत्मनिर्भर बनाउनुको साथै कृषि क्षेत्रको व्यवसायीकरणमा वृद्धि गर्ने लक्ष्य लिएको बताए ।

नगरले तोरी खेती प्रवर्द्धन गर्न तथा किसानहरूलाई उत्पादनसँग प्रत्यक्ष जोड्न तोरी प्रति एक केजी उत्पादन गर्दा १५ रुपैयाँ अनुदानको व्यवस्था गरिएको मेचीनगर कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले जानकारी दिए । कम्तीमा ५ कठ्ठादेखि बढीमा एक बिगाहा जमिनमा तोरी खेती गर्ने किसानहरूलाई अनुदानको रकम भुक्तानी गरिने व्यवस्था अनुसार अहिले ८ हजार ९ सय ९० कट्ठा जग्गामा तोरी खेती गरेका किसानहरूले धमाधम आफ्नो बैक खाता लिएर आउँदै अनुदान रकम लगिरहेको बताए ।

प्रतिकृया दिनुहोस्