News Portal

पत्रकार घिमिरेलाई समाचार नछाप्न भन्दै प्रहरी निरीक्षक खड्काले दिए १० हजार घुस 

रातोपोस्ट संवाददाता
५५५७ पटक

झापा । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा कार्यरत प्रहरी निरीक्षक भुवनबाबु खड्काले समाचार नलेखिदिन भन्दै पत्रकार खगेन्द्र घिमिरेलाई घुस दिने प्रयास गरेका छन् ।

अनुसन्धान अनलाइन एवम् टीभीका सम्पादक घिमिरेका अनुसार शनिवार साँझ ६ बजेतिर प्रहरी निरीक्षक खड्काले इलाका प्रहरी कार्यालय स्थित आफ्नै कार्यकक्षमा बोलाएर १० हजार रुपैयाँको खाम दिएका थिए ।

आफुले तत्कालै सो घटना बारे इलाका प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेललाई जानकारी गराई रकम फिर्ता दिएको पत्रकार घिमिरेले शनिवार साँझ प्रेस विज्ञप्तिमार्फत घटना सार्वजनिक गरेका छन् ।

घिमिरेले सम्पादन गर्दै आएको अनलाइनमा प्रहरीले सेटिङमा सुपारी तस्करी गरिरहेको समाचार शुक्रवार प्रकाशित भएको थियो ।

समाचार प्रकाशित भएपछि प्रहरी निरीक्षक खड्काले पटकपटक फोन गरी भेट्न आउन आग्रह गरेको पत्रकार घिमिरेले बताए ।

५ हजार एकाउन्टबाट र ५ हजार व्यक्तिगत रुपमा भन्दै आफुलाई १० हजार रुपैयाँ भएको खाम दिएको घिमिरेको दावी छ ।

पत्रकार घिमिरेले घुस रकम डीएसपी पोखरेललाई फिर्ता दिए लगत्तै नेपाल पत्रकार महासङ्घ झापाका सचिव सन्तोष आचार्यलाई इलाका प्रहरी कार्यालयमा बोलाएर घटनाको प्रत्यक्ष जानकारी दिएका थिए ।

सचिव आचार्यले प्रहरी निरीक्षक खड्काले घुस दिएको घटना बारे इलाका प्रहरी कार्यालयमा पुगेर थाहा पाएको र पत्रकारलाई प्रलोभनमा पार्न खोज्ने कार्य अक्षम्य भएको बताएका छन् ।

अनलाइन र युट्युव समाचार मार्फत विभिन्न भ्रष्टाचारजन्य गतिविधिको भण्डाफोर गरेर चर्चामा रहेका पत्रकार घिमिरेले घुस दिने प्रहरी अधिकृतमाथि कडा कारवाहीको माग समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्