News Portal

पर्याप्त सामग्री अभावमा स्वास्थ्यकर्मी नै मनोवैज्ञानिक त्रासमा

रातोपोस्ट
८६५ पटक

गुल्मी : कोरोना भाइरस उपचारका लागि आवश्यक सामग्री नहुँदा स्वास्थ्यकर्मीमा मनोवैज्ञानिक असर परेको छ।

प्रत्येक स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पिपिई नहुँदा स्वास्थ्यकर्मीलाई मनोवैज्ञानिक असर पुगेको हो। रेसुङ्गा नगरपालिकाको मातहतमा ३० जना स्वास्थ्यकर्मी छन्। तर, हालसम्म एकसेट पनि पिपिई छैन।

सदरमुकामस्थित रेसुङ्गा नगरमा कोरोनाको उच्च जोखिम रहेकोले महेन्द्र नमुना माविमा १६ शय्‍याको क्वारेन्टाइन कक्ष बनाइएको छ। उपल्लो तम्घासमा २० शय्याको आइसोलेसन बनाइँदै छ।

तर, राज्यले आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्दा स्वास्थ्यकर्मीलाई समेत जाँगर चलेको छैन।‘पिपिई नहुनु भनेको हतियारबिना युद्धमा जानुजस्तै हो।’

रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले भने, ‘हामीजस्ता धेरै स्वास्थ्यकर्मी जोखिममा रहेका छौ।’ त्यसका साथै उनले पिपिइका सँगसँगै माक्स र सेनेटाइजरको समेत अभाव भएको बताए। ‘सुरक्षित खालका मास्‍क छैनन्।’ अर्यालले भने, ‘जति रकम तिरे पनि मास्‍कसम्म पर्याप्त हुन सकेको छैन।’

ज्वरो नाप्नेसम्म छैन

गाउँपालिकामा १५/१५ शय्याका आइसोलेसन र क्वारेन्टाइन बनाउने तयारी भइरहेको छ। हालसम्म कुल ३९ जना स्वास्थ्यकर्मी छन्। तर ५० सेट पिपिई माग गरिएकोमा जम्मा आठ सेट मात्र उपलब्ध छ।

त्यसैमाथि  गाउँपालिकामा ज्वरो नाप्ने आधुनिक मेसिनसमेत छैन। जसले गर्दा स्वास्थ्यकर्मीहरुलाई नै कोरोनाको जोखिम बढ्दै गएको गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्तराज भुसालले बताए।

‘निरन्तर कोरोनाविद्धको लडाइँमा छौं, तर पर्याप्त सामग्री समस्या परेको छ।’ उनले भने। अहिले जिल्लाका धेरै स्थानीय तहमा पिपिई छैन। जसले गर्दा आम नागरिक, स्वास्थ्यकर्मी र सबैमा त्रास फैलिएको छ।

जिल्लाकै प्रमुख नाका रिडीमा संचालन गरिएको हेल्प डेस्‍कसमेत व्यवस्थित नहुनु, सदरमुकाममा संचालित क्वारेन्टाइन कक्षमा सबै स्थानीय तहको सहयोग नहुनु, उपचारमा आवश्यक सामग्री नहुनु जस्ता कारणले समस्या परेको छ।

स्वास्थ्यकर्मीबाट नागरिक तर्कन खोज्छन्

रोजगारीका लागि देशका विभिन्न ठाउँ तथा देशबाहिर गएका धेरै नागरिक अहिले घर आएका छन्। सदरमुकाम तम्घासमा कोठा भाडामा बस्नेहरु पनि अधिकांश गाउँ गएका छन्।

बजारमा भन्दा गाउँमा मानिसहरुले कम सतर्कता अपनाउने गर्दछन्। एकातर्फ मानिसहरुको चाप बढी छ भने अर्कोतर्फ पर्याप्त स्वास्थ्य सामग्री छैनन्।

जसले गर्दा आम नागरिकहरु स्वास्थ्यकर्मीहरूसँग नै तर्कन खोजेको मदाने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तीर्थ पन्थीले गुनासो गरे।‘हामीबाट सतर्क रहन खोजेजस्तो व्यवहार पाइएको छ।’ उनले भने, ‘हामी आफैँ पनि मनोवैज्ञानिक असरमा परेका छौँ।’

सतर्कताभन्दा त्रास बढी

‘वनको बाघले खाओस् कि नखाओस्, मनको बाघले खाओस्।’ यो नेपाली उखान यतिबेला सत्य सावित भएको छ।

गाउँदेखि शहरसम्म आम नागरिकमा कोरोनाको विषयमा त्रास बढी छ। सामाजिक संजालको बढ्दो प्रयोग, सञ्चार माध्यमका कोरोनाविशेष समाचार र कार्यक्रम, स्थानीय तह वा स्वास्थ्य संस्थाका जनचेतनामूलक सामग्री लगायतका कारणले अहिले कोरोनाबारे घरभित्रै पनि धेरै बहस हुने गरेको छ।

‘नागरिकहरुमा आवश्यक तयारीभन्दा बढी त्रास फैलिएको छ।’ धुर्कोट गाउँपालिका ४ जैसिथोकस्थित खहरे स्वास्थ्य क्लिनिकका प्रमुख अर्जुन भण्डारीले भने, ‘मानिसमा सचेतनाको अझै अभाव रहेको छ।’थाहा खबर

प्रतिकृया दिनुहोस्