News Portal

६ दिनअघि मात्र मुम्बईबाट आएका थिए, कोरोनाबाट मृत्यु भएका दोस्रा व्यक्ति

रातोपोस्ट संवाददाता
५१८ पटक

काठमाडौं। कोरोना भाइरस संक्रमणबाट नेपालमा मृत्यु भएका दोस्रो व्यक्ति ६ दिनअघि मात्र भारतबाट नेपाल आएको खुलेको छ ।

बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका युवकको मृत्युको कारण कोरोना संक्रमण नै भएको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको आज बिहान एक्कासी स्वास्थ्य असामान्य भएपछि मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताए ।

खानका अनुसार उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवकको मृत्यु भएको थियो । क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको जानकारी दिएका छन् । कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै सङ्कलन गरिएको थियो। आइतबार आएको रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । एकै दिन आठ सङ्क्रमित भेटिएको नरैनापुरमा सङ्क्रमितको सम्पर्कमा आएका २६३ जनाको शनिवार स्वाब सङ्कलन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्