News Portal

  • कोरोना संक्रमितको शव बोक्ने दुई स्वयंसेवक आइसोलेसनमा

    अन्नपूर्ण पोस्ट
    ११३२ पटक

    भक्तपुर : कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको शव बोक्ने गाडी चलाउने भक्तपुरका दुई युवालाई आइसोलेसनमा राखिएको छ ।

    भक्तपुरका स्वयंसेवी दुई युवा अरुण सैंजू र राजेश गाइँजूले काभ्रेको धुलिखेल अस्पतालबाट ती महिलाको शव आफ्नो गाडीमा राखेर ल्याई काठमाडौंको पशुपतिनाथस्थित विद्युतीय शवदाह गृहसम्म व्यवस्थापन गरेका थिए ।

    उनीहरुलाई भक्तपुरको सूर्यविनायकस्थित नेपाली सेनाको वीरदल गणले गण बाहिर व्यवस्थापन गर्ने आइसोलेसनमा राखिएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले उनीहरुको कोरोना परीक्षण गरेर नतिजा नआएसम्म उक्त आइसोलेसनमा राखिने जानकारी दिए ।
    ‘संक्रमण हुन सक्ने भएकाले उहाँहरुलाई आइसोलेसनमा राखिएको हा’, उनले भने, ‘कोरोना भाइरस परीक्षण भएर रिपोर्ट नआएसम्म उहाँहरु आइसोलेसनमै बस्नुहुन्छ।’

    उनीहरुलाई आइसोलेसनमा राखिनुअघि उनीहरुले प्रयोग गरेको पीपीईलगायत भक्तपुरको सल्लाघारीस्थित ९९ रोपनीमा आगो लगाएर नष्ट गरिएको थियो । त्यस्तै महिलाको शव बोक्न उनीहरुले प्रयोग गरेको गाडीसमेत निसंक्रमण –डिस्इन्फेक्सन गरेपछि सल्लाघारीको ९९ रोपनीमै आइसोलेट गरिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।

    भक्तपुर स्वयंसेवी युवा सैंजु र गाइँजूसहित चार जना युवाले सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न लकडाउन घोषणा गरेदेखि भक्तपुर अस्पतालमा बसेर स्वयंसेवी भएर कार्य गर्दै आएका हुन् । सैंजू र गाइँजूसँगै न्हुज किजू र पुनम कर्माचार्यले भक्तपुर अस्पतालमा क्याम्प नै खडा गरेर स्वयंसेवा दिँदै आएका हुन् ।

    आरएनए १६ नामक संस्थामा आवद्ध उनीहरुले कोरोना भाइरस संक्रमणको जस्तै लक्षण आएका बिरामीहरु लिन जाने, उपचारपछि पु¥याउन जाने तथा अस्पतालको फिभर क्लिनिकमा सहयोग पु¥याउँदै आएका थिए ।

    यसको लागि उनीहरुले कोरोना भाइरस संक्रमितहरुको सुरक्षित ओसारपसार गर्न हुने गरी मोडिफाई गरिएको गाडी प्रयोग गर्दै आएका छन् । शनिबार सोही गाडीमार्फत उक्त समूहका सैंजू र गाइँजूले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सुत्केरी महिलाको शव सुरक्षित तरिकाले धुलिखेल अस्पतालबाट पशुपतिस्थित विद्युतीय शवदाह गृहसम्म लगेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)