News Portal

प्रधानसेनापति थापा र सशस्त्र प्रहरीका आईजीपी खनाल कालापानी क्षेत्रमा

रातोपोस्ट
५२१ पटक

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल बुधबार दार्चुला पुगेका छन्। कालापानी–लिम्पियाधुरा–लिपुलेक क्षेत्रमा भारतले एकतर्फीरूपमा सडक निर्माण गरी उद्घाटन गरेपछि कालापानी नजिकै सेनाले खडा गरेको अस्थायी क्याम्प र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण गर्न उनीहरु त्यहाँ पुगेका हुन्।

बैशाख ३१ गते गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्राध्यापक.डा. इन्द्रजित राई तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले कालापानी नजिकै दार्चुलाको छाङरुमा बिओपीको उद्घाटन गरेका थिए। त्यहाँ सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको कमाण्डमा २५ सशस्त्र प्रहरी खटाइएको छ। नेपाली सेनाको हेलिकप्टरले दुई पटक गरेर सशस्त्र प्रहरी, नेपाल प्रहरी र बिओपीका लाग चाहिने सामान छाङरु पुर्‍याएको थियो।

सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ। नेपाल, भारत र चीनको त्रिदेशीय नाकासँग जोडिएको सामरिक महत्वको सो क्षेत्रमा राज्यको उपस्थिति बढाउने क्रममा नियमित पैदल गस्ती हुन थालेको हो। दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङ्रु (गागा) सीमा निगरानी चौकी (बिओपी) सञ्चालनमा ल्याइएपछि त्यहाँबाट खटिएका सुरक्षाकर्मीले कालापानीको सेतो पुलसम्म पुगेर नियमित गस्ती गर्न थालेका हुन्। छाङ्रुबाट कालापानी १४ किलोमिटरको दूरीमा पर्छ।

सेनाले छाङरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक बनाउँदैछ। त्यसअघि सर्वसाधारणका लागि छाङरुसम्म पुग्ने बाटोका लागि घाँटी बगरमा ट्याक खोल्ने काम अहिले सेनाले गरिररहेको छ।

वि.सं २०७४ को अन्त्यसम्म ८७ वटा रहेको बिओपीलाई २२१ सम्म विस्तार गर्ने योजनाअनुहार हाल १३० सञ्चालनमा ल्याइएको छ। उत्तरी सीमातर्फ संखुवासभाको किमाथांका, दार्चुला छाङ्रु, मुस्ताङ्गको नेचुङ्गमा नयाँ बिओपी स्थापना भएका हुन्।

सीमा सुरक्षासहित विभिन्न १४ कार्यादेश पाएको सशस्त्र प्रहरीले साङ्गठनिक पुनःसंरचना गर्दै चालू आवमा २२१ बिओपी स्थापनाको लक्ष्य लिएको छ भने क्रमशः यसलाई विस्तार गरी दीर्घकालमा ५०० सम्म बनाउने योजना अघि सारेको छ। यसरी विस्तार गर्दा सीमा सुरक्षामा १९ हजारसम्म सुरक्षाकर्मी खटाउनुपर्ने देखिएको छ। यसका लागि करिब १० हजार जनशक्तिको दरबन्दी थप्न बलले नेपाल सरकारसँग आग्रह गरेको छ।

सीमा क्षेत्रमा थप १ सय १४ वटा बिओपी निर्माण गर्न नेपाल सरकारबाट स्वीकृति प्राप्त भएकामध्ये २३ वटा स्थापना भइसकेको र अन्य स्थापनाको क्रममा रहेको बलले जनाएको छ। अहिलेसम्म छाङरुभन्दा पनि झण्डै ५ किलोमिटर उत्तरमा रहेको गागा क्षेत्रमा वर्षमा ६ महिनाका लागि मात्रै नेपाल प्रहरी बस्दै आएको छ। अन्नपूर्ण पोस्ट

प्रतिकृया दिनुहोस्