
काठमाण्डाै, असार ७ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४२१ जना कोरोना संक्रमित भेटिएका छन् । यीमध्ये ६४ जना महिला हुन् भने ३५७ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। देशका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणमा उक्त नतिजा आएको हो।
यीमध्ये कोशी अस्पतालको प्रयोगशालामा झापाका ६ जना र उदयपुरका ५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका २ जना र सुनसरीका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ८, महोत्तरीका २, सप्तरीका २ जना र नारायणी अस्पतालमा बाराका ३ जनामा कोरोना संक्रमण पाइएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अर्घाखाँचीका १६, डडेल्धुराका १४, डोटीका १६, गुल्मीका ५, कैलालीका ३, कपिलवस्तुका ११, नवलपरासी पश्चिमका २१, नुवाकोटका १, प्यूठानका २०, रामेछापका १, रुपन्देहीका १, सर्लाहीका ५, सिरहाका ५२ जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्तपालमा ललितपुरका १ र पाल्पाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रयोगशाला परीक्षणमा बाग्लुङका २३, कास्कीका १, स्याङ्जाका १०, मुस्ताङका १, म्याग्दीका ४, नवलपरासी पूर्वका ४, पर्वतका २ र तनहुँका ५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका ९ जना, गुल्मीका २, कपिलवस्तुका १४ र नवलपरासी पश्चिमका १ जना, पाल्पाका २ र रुपन्देहीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भेरी अस्पतालको प्रयोगशालामा बाँकेका १, बर्दियाका ३, रोल्पाका ३ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा दाङका १० र रोल्पाका १ जना संक्रमित भेटिएको छ।
आइतबार नै सुर्खेत प्रादेशिक प्रयोगशालामा दैलेखका १ जना, सल्यानका ६ जना र सुर्खेतका २ जना, सेती प्रादेशिक अस्पतालमा अछामका २, बैतडीका २, बझाङका २, डडेल्धुराका २७, डोटीका ११, कैलालीका २४ र कञ्चनपुरका १ जनामा समेत कोरोनाभाइरसको संक्रमण पाइएको छ। आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ९०२६ पुगेको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार आइतबार मुस्ताङमा समेत कोरोना संक्रमित भेटिएपछि हालसम्म देशका ७५ जिल्लामा संक्रमण देखिएको छ भने नेपालमा हालसम्म २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमित भेटिएका मध्ये १७७२ जना डिस्चार्ज भएका छन्।