News Portal

प्रचण्डले ओलीलाई सम्झाए सरकार-पार्टी आलोपालोको सम्झौता

रातोपोस्ट
५४७ पटक

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको बुधबारदेखि सुरू भएको स्थायी कमिटी बैठकको पहिलो दिन नै आरोप प्रत्यारोप भएको छ। बालुवाटारमा बसेको स्थायी कमिटी बैठकको पहिलो दिन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आरोप प्रत्यारोप भएको हो।

बैठकमा बोल्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले सरकारलाई आफ्नै पार्टीले घेराबन्दी गरेको गुनासो गरेका थिए। तर अर्का अध्यक्ष दाहालले प्रधानमन्त्री ओली एक्लै अघि बढ्न खोज्दा कम्युनिष्ट पार्टी नै गम्भीर संकटमा परेको बताएका छन्। उनले पार्टी एकता गर्दा ऐतिहासिक कदम चालेको स्मरण गराउँदै तर अब पश्‍चाताप गर्नुपर्ने अवस्था आइसकेको बताए।

‘हामीले ऐतिहासिक कदम चालेका थियौं, जसले गर्दा जनतामा पनि बेग्लै उत्साह देखिएको थियो। तर अहिले चाहिँ कम्युनिष्ट आन्दोल नै संकटमा परेको देखिँदैछ। न पार्टीको बैठक हुन्छ, न कुनै छलफल नै हुन्छ। पार्टी विस्तारै फङ्सन लेस हुँदै गएको छ, यसरी त कम्युनिष्ट आन्दोलनमा गम्भीर दुर्घटना निम्तिरहेको छ।’ अध्यक्ष दाहालले सरकार र पार्टी यही तरिकाले अघि बढिरहने हो भने खतराको घण्टी बज्‍न धेरै समय नलाग्‍ने बताए। ‘यसरी नै चलिरहने हो भने खतराको घडी बज्‍न सक्छ।

त्यति लामो संघर्ष र आन्दोलन गरेका आएको हुनाले अब यसको समाधान पनि हामीले नै दिनुपर्छ। अब पछाडि फर्किएर केही हुँदैन’, दाहालले भने, ‘अब अगाडि बढ्‍नुको विकल्प हामीसँग छैन, समाधान पनि अगाडि बढेर नै हल गर्न सक्छौं।’ उनले पार्टी भित्र घनिभुत छलफलको आवश्यकता रहेको पनि बताए। ‘अब हामीले सच्चिएर अघि बढ्नुपर्छ। त्यसका लागि गम्भीर छलफल जरुरी भइसकेको छ। अहिलेसम्मको उपलब्धि मेरो मात्रै हो कसैले भन्‍नु भएन।

यो हामी सबैजनाको उपलब्धि हो’, उनले भने, ‘कसैले पनि सबै उपलब्धि एकजनाका कारणले भएको हो भनेर घमण्ड नगरौं।; सम्झौताबाट पछि हट्नु गल्ती अध्यक्ष दाहालले तत्कालीन नेकपा माओवादी केन्द्र र तत्कालीन नेकपा एमालेबीच एकताका क्रममा भएका सम्झौताबाट पछि हट्दा अहिले पश्‍चाताप भएको टिप्पणी गरे। दुई अध्यक्षले पालैपालो सरकार र पार्टी चलाउने सम्झौताबाट आफू पछि हट्नु गल्ती भएको उनले बैठकमा बताएका थिए।

‘पहिले पनी हामीले एकताका क्रममा ५०/५० भनेका थियौं। त्यसबाट पनि म पछि हटेँ। अहिले त्यसरी सम्झौताबाट पछि नहटेको भए हुने रहेछ भन्‍ने लागेको छ’, उनले पार्टी एकता गर्दाका सम्झौता स्मरण गराउँदै भने, ‘सरकार र पार्टी दुई अध्यक्षले आलोपालो चलाउने भन्‍ने सम्झौता थियो, त्यस सम्झौताबाट व्याक हुने निर्णय नगरेको भए हुने रहेछ।’

उनले पार्टी एकता गर्दाको समयमा सम्झौता पटक पटक स्मरण गराएका थिए। अध्यक्ष दाहालले पार्टी एकता गर्दा सामूहिक भावनामा चल्ने गरी भएको समझदारी अर्का अध्यक्ष ओलीले एक्लै अघि बढ्न खोज्दा तोडिएको पनि गुनासो गरेका थिए। उनले ओली दम्भ पालेर एक्लै अघि बढ्न खोज्दा पार्टी र सरकार दुवैमाथि घेराबन्दी भएको पनि उल्लेख गरे। थाहा खबर

प्रतिकृया दिनुहोस्