News Portal

ओली-प्रचण्डबीचको वान टु वान वार्ता सकियो

रातोपोस्ट संवाददाता
४३० पटक

काठमाडौँ, असार २३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वान टु वान वार्ता सकिएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब ३ घण्टा भएको वार्तामा ठोस सहमति भने नभएको नेकपाका नेताहरुले बताएका छन् ।

दुई अध्यक्षको छलफलपछि बुधाबारलाई तय भएको स्थायी कमिटीको बैठक भने हुने भएको छ ।

यस अघि दुवै अध्यक्षबीच सोमबार पनि वान टु वान वार्ता भएको थियो ।

यहि असार १० गतेदेखि शुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा धेरै सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि पार्टीमा विवाद बढेको छ । गत शनिबार देखि दुई पटक स्थायी कमिटीको बैठक स्थगित गरिएको छ ।

यही असार १० गतेदेखि चालु स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेता भित्रभित्र लागेको भन्ने प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेको विषयले प्रवेश पाएपछि नेताहरुबीचको दूरी बढेको हो । यी नयाँ विषयले पूर्वानिर्धारित कार्यसूची प्रभावित हुँदै आएका छन् । साथै यही असार १८ गते सरकारले सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य गराएको विषय पनि नेकपामा विवादित बनेको छ ।

संसद् नभएको स्थितिमा राजनीनितक दलसम्बन्धी खारेज भएको अध्यादेश पुनः ब्यूँतने संशय पैदा हुँदा हाल त्यस्तो योजना नरहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् । अध्यक्ष प्रचण्डले पनि राष्ट्रपतिसँगको भेटमा परामर्शबिना कुनै अध्यादेश जारी नगर्न आग्रह गर्दै आएका छन् ।

यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफूले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेबापत सरकार हटाउन भारतीय पक्ष र देशभित्रैबाट पहल भएपनि नक्सा छापेबापत सरकार परिवर्तन हुने नेपालको राष्ट्रियता त्यति कमजोर नभएको अभिव्यक्ति दिएका थिए ।

स्थायी कमिटीमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसीसी लगायत कार्यसूची छन् ।

प्रतिकृया दिनुहोस्