News Portal

प्याब्सन र एन प्याब्सन मेचीनगरद्धारा नगरपालिकालाई संयुक्त ध्यानाकर्षण पत्र

रातोपोस्ट संवाददाता
९०४ पटक

झापा, साउन ३ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एन– प्याब्सन) मेचीनगरले संयुक्त रुपमा मेचीनगर नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

संगठनको केन्द्रिय नेतृत्वको निर्देशन बमोजिम मेचीनगर नगरपालिका भित्र रहेका निजी बिद्यालयहरुका सबै गतिविधि बन्द गर्ने जानकारी ध्यानाकर्षण पत्रमार्फत गराइएको छ ।

प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचाल र एनप्याब्सन अध्यक्ष भगिरथ राईद्वारा हस्ताक्षरीत पत्रमा भनिएको छ, कोभिड १९ बाट सृजित समस्याको समाधानार्थ छाता संगठनले सरकार समक्ष गरेको आग्रहको बेवास्था गरिएको र त्यसबाट बिद्यालयहरुलाई दायित्व पुरा गर्न अफ्ठ्यारो पर्दै गएका कारण हाल सञ्चालनमा रहेका सिकाईका वैकल्पिक विधिहरु अर्को सुचना जारी नभईजेल सम्मका लागि बन्द रहनेछ’ ।

ध्यानाकर्षण पत्रमा पठनपाठनलाई सुचारु गर्न नयाँ बिद्यार्थी भर्ना, बिद्यार्थीको अभिलेखिकरण गर्न र पाठ्य पुस्तक तथा शैक्षिक सामग्री ब्यवस्थापन गर्ने वातावरण मिलाईदिन भनिएको छ ।

त्यस्तै अनलाईन कक्षा र भर्चुअल कक्षाहरुको पहुँचमा बिद्यार्थीहरु आउन नसकेको बताउँदै कोभिड १९ को प्रभावको अध्ययन गरी यथासम्भव जोर–विजोर वा आलोपालो प्रणालीमा कक्षा सञ्चालन गर्ने ब्यवस्था मिलाईदिन नगरपालिकालाई ध्यानाकर्षण गराइएको छ ।

क्वारेन्टिनको रुपमा प्रयोग भएका बिद्यालयहरुको स्थानान्तरण, वहाल कर एवं ब्यवसायीक कर लागयतको महशुलमा छुट दिन, सार्वजनिक बिदा कटौती गरी नयाँ शैक्षिक क्यालेन्डरको निर्माण एवं शिक्षा नियमावलीले तोके बमोजिमको तोकीएको जिम्मेवारी पुरा गर्ने सवालमा शुल्कहरु संकलन गर्न पाउने ब्यवस्था सार्वजनिक गर्न भनिएको छ ।

साथै निजी बिद्यालयहरुले शैक्षिक शत्र २०७६ को बाँकी वक्यौता र २०७७ को कुनै पनि शुल्क नलिन सरकारले गरेको निर्देशनबाट कठिनाई उत्पन्न भएको भन्दै शिक्षक–कर्मचारीको तलव–भत्ताको ब्यवस्थापनमा उचित सहयोग गर्न समेत अनुरोध गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै मेचीनगर शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारीले संगठनको तर्फबाट आफुहरुको ध्यानाकर्षण भएको बताउँदै, उचित मागको सम्बोधन गराउने सन्दर्भमा नगर नेतृत्व समक्ष जानकारी गराईने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

सो अवसरमा एनप्याब्सन जिल्ला सल्लाहकार संयोजक सञ्जिव राई, प्याब्सन मेचीनगर अध्यक्ष रुचाल, एनप्याब्सन मेचीनगर अध्यक्ष राई लगायतले धारण राख्नु भएको थियो ।

ध्यानाकर्षण पत्र हस्तान्तरणको क्रममा मेचीनगर शिक्षा प्रमुख भण्डारी, सामाजिक विकास समिति संयोजक नबिन बराल, बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ति, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ लगायतको उपस्थिति थियो । सो अवसरमा मेचीनगरमा रहेका निजी बिद्यालयका सञ्चालक, प्रिन्सिपल एवं प्रतिनिधि शिक्षकहरुको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस्