News Portal

उपत्यकामा थपिए ६२ जना कोरोना संक्रमित

रातोपोस्ट संवाददाता
५४१ पटक

काठमाडौं, साउन २०। मंगलबार उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा मात्रै ६२ जना कोरोना संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत दिएको जानकारी अनुसार उपत्यकामा ६२ जना थपिएसँगै कोरोना संक्रमितको संख्या ७२७ पुगको छ। मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंका ४८ जना, ललितपुरका १ जना र भक्तपुरका १३ जनामा संक्रमण देखिएको हो।

भेटिएका संक्रमितहरू राष्ट्रिय प्रयोगशाला टेकु, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, स्टार अस्पताल ललितपुर, टिचिङ हस्पिटल र कोरिया नेपाल मैत्री अस्पताल भक्तपुरमा भेटिएका हुन्। यससँगै उपत्यकाका जिल्लाहरू काठमाडौंमा ५४१ जना, ललितपुरमा १०९ जना र भक्तपुरमा ७७ जना कोरोना संक्रमित पुगेका छन्।

बन्दाबन्दी खुकुलो भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या पाँच गुणाले बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या बढिरहेको देखिएको हो। उपत्यकामा करीब एक महीनाको अन्तरमा कोरोनाका सक्रिय संक्रमितको संख्या झण्डै पाँच गुणाले बढेको देखिएको छ।

सरकारले कोरोना संक्रमित बढ्न थालेपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाई गरेको छ भने साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मको आवागमनलाई बन्द गराएको छ।

प्रतिकृया दिनुहोस्