News Portal

नेपाल भारत चीन सीमा: दुई वर्षमै सीमा क्षेत्रमा दोबर भन्दा बढी प्रहरी चौकी

बीबीसी न्यूज नेपाली
५२६ पटक

नेपालले भारत र चीनसँगका सीमामा शत प्रतिशत भन्दा बढीले सीमा अवलोकन गर्न सीमा प्रहरी चौकी (बीओपी)बढाउने काम द्रूत गतिमा भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन्।

हाल नेपालको भारत र चीनतर्फको सीमा क्षेत्रमा २२० वटा बीओपी कायम रहेको बताइएको छ।

दुई वर्षभित्र त्यो सङ्ख्या बढाएर ५०० पुर्‍याउने लक्ष्य रहेको सरकारले जनाएको छ।

सशस्त्र प्रहरीका प्रमुखले सीमा सुरक्षाको विषयलाई प्राथमिकतामा राखिएको भन्दै अहिलेकै रफ्तारमा काम हुने हो भने दुई वर्ष भित्र ती पोष्टहरू स्थापना भइसक्ने बताए।

तीन दिशामा भारतसँग १,७५१ किलोमिटर खुला सीमा रहेको नेपालको उत्तरमा चीनसँग १,४१४ किलोमिटर सीमा रहेको छ।

सीमा विवाद
हालैका दिनमा भारत र चीन दुवै देशसँग स्थानीय स्तरमा सीमा विवादका विवरण आइरहेका बेला सशस्त्र प्रहरी प्रमुखको पछिल्लो भनाइ आएको हो।

सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिएको सरकारले यसै वर्ष कालापानी नजिकै पनि सीमा चौकी स्थापना गरेको थियो।

त्यसबाहेक चीन तथा भारत दुवै देशका सीमा क्षेत्रमा हतियारसहित सशस्त्र प्रहरीको उपस्थिति बाक्लिँदै गएको सुरक्षा अधिकारीहरू बताउँछन्।

देशका विभिन्न स्थानमा अहिले सशस्त्र प्रहरी बलले सीमा सुरक्षाका लागि बोर्डर आउट पोस्ट ‘बीओपी’ स्थापना गरिरहेको छ

गत भदौ १५ गते भारतसँग जोडिएको इलामको सलकपुरमा सशस्त्र प्रहरीले बोर्डर आउट पोस्ट ‘बीओपी’ स्थापना गर्‍यो।

प्रहरी निरीक्षकको कमाण्डमा ३५ जना सशस्त्र प्रहरी खटाउने भनिए पनि जनशक्ति अभावमा अहिले उक्त बीओपीमा प्रहरी नायव निरीक्षकको कमाण्डमा २५ जना सशस्त्र प्रहरी राखिएको छ।

केही दिन अघि भारतसँग जोडिएका पाँचथरको चिवाभन्ज्याङ, भैँसे तथा इलामको समालबुङमा पनि सशस्त्र प्रहरीका बीओपी स्थापना भए।

गत असोज १९ गते झापाको पाठामारीमा पनि सशस्त्र प्रहरीले बीओपी स्थापना गर्‍यो।

दशैँ अघि नै भारतसँग जोडिएका झापाका नकलबन्दा तथा ज्यामिरगढीमा पनि बीओपी स्थापना गरिने सशस्त्र प्रहरीका प्रदेश नं १ का प्रमुख प्रहरी नायब महानिरीक्षक बंशी दाहालले जानकारी दिए।

चीन तथा भारतसँग सीमा जोडिएका सीमावर्ती स्थानमा ५ सय बीओपी स्थापना गर्ने योजनाका साथ काम भइरहेको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बताए।

थप जनशक्ति ‘आवश्यक
सशस्त्र प्रहरीमा अहिले करिब ३७ हजार जनशक्ति छन्।

यो वर्षका लागि राखिएको २ सय २१ वटा बीओपी बनाइसक्ने लक्ष्यका लागि यही जनशक्तिले पुग्ने महानिरीक्षक खनालले बताए।
उनले भने, ‘यो वर्ष स्थापना भइसक्ने बीओपीका लागि अहिलेकैले जनशक्तिले पुग्ला। तर सबै बीओपी स्थापना भइसक्नका लागि १० हजार जनशक्ति थप्नुपर्छ।’

अहिलेसम्म १ सय ६५ वटा बीओपी स्थापना भइसकेको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायव महानिरीक्षक राजु अर्याल बताउँछन्।

महानिरीक्षक खनालका अनुसार ठूला नाकामा ५० जना र साना नाकाहरूमा कम्तीमा ३५ जना जनशक्ति हाल खटाइएको छ।

चीन तथा भारतसँग जोडिएका सीमा क्षेत्रमा राखिएका बीओपीहरू घर भाडामा लिएर त कतै खाली सरकारी कार्यालयहरूमा स्थापना गरिएको सशस्त्र प्रहरी बलका पदाधिकारीहरूले बताएका छन्।

कुनै स्थानमा भने स्थानीयवासीले नि:शुल्क जग्गा उपलब्ध गराइदिएर कार्यालय बनाउने प्रक्रियामा गएको महानिरीक्षक खनालले जानकारी दिए।

उनले भने, ‘हामी विस्तारै बनाउँदै गइरहेका छौँ। अहिले चाहिँ हामीले घर भाडामा लिएर स्थापना गरिरहेका छौँ। कतिपय स्थानमा भन्सारका कार्यालयहरू पनि प्रयोग गरिरहेका छौँ।’

पुराना स्थापना भइसकेका ७० बीओपीहरू यसपाली टेन्डर गरेर बन्ने प्रक्रियामा रहेको उनले जानकारी दिए।

सीमामा हतियारसहित बस्छन् सशस्त्र प्रहरी
झापाको दक्षिणी कचनकवल गाउँपालिकाको पाठामारीमा कुन नेपाल कुन भारत छुट्याउन गाह्रो छ।

तल्लो घर भारतमा पर्छ भने माथिल्लो घर नेपाल, अनि दुई देशबीचको सीमा चाहिँ आँगन।

 

सीमा विवाद भइरहेका स्थान नजिकै अहिले सशस्त्र प्रहरीले बीओपी स्थापना गरिरहेको छ।

त्यस्ता बीओपीहरूमा सशस्त्र प्रहरी हतियारसहित बस्न थालेको सशस्त्र प्रहरी बलका अधिकारीहरूले बताएका छन्।

यस अघि पनि सीमा क्षेत्रमा विवाद हुँदा सशस्त्र प्रहरीले हवाई फायर गरेका समाचारहरू प्रकाशमा आएका थिए।

महानिरीक्षक खनालले भने, ‘हाम्रा तर्फबाट हतियारसहित सीमा सशस्त्र प्रहरी तैनाथ गरेका हौं।’

सीमा सुरक्षा
चीन तथा भारतसँग जोडिएका सीमामा सशस्त्र प्रहरीको बीओपी स्थापनाको प्रकृयाले सीमा संरक्षणमा सहयोग पुर्‍याउने सीमाविद्‌हरू बताउँछन्।

एक जना सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार नेपालपट्टि हतियारसहित सशस्त्र प्रहरीको उपस्थितिले सीमाको सुरक्षा हुनेछ।

श्रेष्ठले भने, ‘जति मिचियो, मिचियो। अरु मिच्न नदिनका लागि यसले मद्दत गर्छ।’

यस अघि नै सीमा सुरक्षा पोष्ट स्थापना भइसकेका सीमा क्षेत्रमा थप विवाद नआएको श्रेष्ठले बताए।

तर विगतमा नै सीमा मिचिएको विषय अलग्गै हेर्नुपर्ने उनी बताउँछन्।

उनले भने, ‘त्यो विषय छुट्टै पहलबाट समाधान गरिनुपर्छ। सीमामा सशस्त्र प्रहरी हतियारसहित उभिँदा त्यहाँका जनताले सुरक्षाको अनुभूत गर्न पाउँछन्।'(बीबीसी)

प्रतिकृया दिनुहोस्