News Portal

बाबुरामलाई नेकपा प्रवक्ताले भने-‘दुई अध्यक्षले घुस लिएको प्रमाण भए सार्वजनिक गर्नुस्’

रातोपोस्ट संवाददाता
५२६ पटक

काठमाडौं, २८ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका अध्यक्षद्वयले बुढीगण्डकी परियोजनाबाट घुस खाएको प्रमाण सार्वजनिक गर्न पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई चुनौती दिएको छ।

बुधबार नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै अध्यक्षद्वय, प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले परियोजनाबाट घुस खाएको भनि लगाएको आरोप ‘विल्कुल झूठ, आधारहिन, गलत, कपोकल्पित र दुरासयपूर्ण रहेको’ भन्दै त्यसलाई पूर्णरुपमा खारेज गरेको बताएका छन्।

“हामी त्यससँग सम्बन्धित तथाकथित कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको सम्बन्धित आधिकारिक निकायमा पेश गर्न चुनौती दिन्छौँ । यद्यपि त्यस प्रकारको कृत्रिम आरोपको तथाकथित प्रमाणको हौवा भ्रमको खेती मात्र हो भन्ने स्पष्ट नै छ”, विज्ञप्तिमा भनिएको छ, “तसर्थ राज्यको गरिमामय उच्च पद सम्हालिसकेका व्यक्तिबाट प्रचारित यस प्रकारको आपत्तिजनक एवं गैरजिम्मेवार अभिव्यक्तिका निम्ति सार्वजनिक क्षमा याचना हुनुपर्दछ।”

केही दिनअघि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गोरखामा आयोजित एउटा कार्यक्रममा ओली, दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मिलेर बूढीगण्डकी परियोजनामा ९ अर्ब कमिसन बाँडेर खाएको अभिव्यक्ति दिएका थिए। 

त्यसलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि पार्टी सभापति देउवाको संलग्नता रहेको प्रमाण सार्वजनिक गर्न यसअघि नै चूनौती दिइसकेको छ।

प्रतिकृया दिनुहोस्