News Portal

  • एकल पुरुषलाई पनि दिन थालियो भत्ता

    रातोपोस्ट
    ३३८ पटक

    दार्चुला, २ कार्तिक । ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ । तर, एकल पुरुषले पनि भत्ता खाएको भने नसुनेको हुनसक्छ ।

    दार्चुलाको अपिहिमाल गाउँपालिकाले एकल पुरुषलाईसमेत भत्ता दिन थालेको छ । गाउँपालिकाभरिका एकल पुरुषलाई गाउँपालिकाले गत आर्थिक वर्षबाट रु ५०० का दरले मासिक भत्ता दिन थालेको हो । एकल महिलाजस्तै एकल पुरुष पनि समस्यामा पर्ने गरेका कारण भत्ता दिन थालिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए ।

    उनीहरुको आर्थिक अवस्थामा थोरै राहत पुगोस् भन्नका लागि भत्ता दिन थालिएको हो । गाउँपालिकाभरिका २८ एकल पुरुषले गत आर्थिक वर्षदेखि निरन्तर एकल पुरुष भत्ता खान थालेका छन् ।

    अपिहिमाल गाउँपालिकाका अनुसार वडा नं १ का दुई, वडा नं २ का तीन, वडा नं ३ का नौ, वडा नं ४ का तीन, वडा नं ५ का पाँच र वडा नं ६ का छ जना एकल पुरुषले भत्ता पाइरहेका छन् ।

    गाउँपालिकाले भत्ता दिन थालेपछि एकल पुरुष पनि खुशी छन् । अपिहिमाल गाउँपालिका–४ का करवीरसिंह ठेकरेले भने, ‘गाउँपालिकाले मासिक रु ५०० भत्ता दिएपछि साबुन, नुन, तेल किन्न सहज भएको छ । अझै यो रकम थप गरिदिए हामी एकल पुरुषलाई पनि सहज हुनेछ ।’ गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम गत वर्ष नै निर्माण गरेको छ ।

    यस्तै गाउँपालिकाले स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिलालाई गाउँपालिकाको तर्फबाट रु एक हजार प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको स्वास्थ्य शाखा प्रमुख राजेन्द्रसिंह धामीले बताए । प्रोत्साहन रकम पाउने भएपछि गर्भवती महिला स्वास्थ्य संस्थामा आएर सुत्केरी हुन थालेका छन् । रासस

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)