News Portal

कांग्रेसले भन्याे, सरकारकाे गलत कामले गर्दा सडकमा असन्तुष्टि देखियो

रातोपोस्ट संवाददाता
४८९ पटक

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेस प्रमुख विपक्षीले सरकारले गलत काम गरेकाले सडकमा असन्तुष्टि देखिएको बताएको छ । सरकार सच्चिएर संविधानको मर्म अनुसार चल्ने हो भने सबै ठीक हुने कांग्रेस नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनबारे छलफल भएको थियो । कांग्रेस नेताहरुले भने अहिलेको सडकमा देखिएको असन्तुष्टि वर्तमान सरकारप्रति असन्तुष्टि भएको बताएका छन् ।

‘देशमा व्यापक असन्तुष्टि छ, त्यसमा दुईमत छैन,’ कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘सरकारले गलत काम गरेको हुनाले विभिन्न रुपमा असन्तुष्टि प्रकट भइरहेको छ । राजवादी वा अरु नाममा सडकमा प्रकट भएको पनि त्यही हो ।’ यस्ता प्रवृत्तिहरुले व्यपकता लिने नलिने सरकारको गतिविधिमा भरपर्ने कांग्रेसले बताएको छ ।

‘सिस्टम वा लोकतन्त्रको खराबी होइन’ उनले भने, ‘सरकार सञ्चालन गर्नेहरुको खराबीका कारण हो । सरकार सच्चियो, लोकतान्त्रिक पद्धतिको मर्मअनुसार चल्यो भने भने कुनै पनि प्रवृत्ति सफल हुन सक्दैन । तपाईंहरु सच्चिने कि नसच्चिने ?’ बैठकमा कांग्रेस नेताहरुले कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल भएको बताएको छ । तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धरपकडको विरोध गर्नुका साथै संसदको बैठक तत्काल बोलाउन समेत माग गरेको छ ।

प्रतिकृया दिनुहोस्