News Portal

विप्लव नेकपाका मुस्ताङ इन्चार्ज पुन म्याग्दीबाट पक्राउ

रातोपोस्ट संवाददाता
८०३ पटक

म्याग्दी, १४ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुनलाई प्रहरीले म्याग्दीबाट पक्राउ गरेको छ। म्याग्दीको मालिका गाउँपालिका–२ बाट ६० वर्षीय पुनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दरवाङले जनाएको छ। बिहीबार साँझ पुन पक्राउ परेका पुष्टी जिल्ला प्रहरी कार्यालय म्याग्दीले गरेको छ

पक्राउपछि पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको छ। प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको जानकारी दिए। पुन यसअघि विभिन्न घटनामा संलग्न भई फरारको सूचीमा रहेका प्रहरीले जनाएको छ। पुनमाथि एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको आरोप छ।

पुन म्याग्दीको मालिका गाउँपालिका–३ का बासिन्दा हुन्। पछिल्लो समय उनी चन्द समूहको मुस्ताङ जिल्ला इञ्चार्ज रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। चन्द समूह र सरकारबीच वार्ताको चर्चा चलिरहेको समयमा पुन पक्राउ परेका हुन्। सरकारले चन्द समूहलाई दुई वर्षदेखि प्रतिबन्ध लगाएको छ।

प्रतिकृया दिनुहोस्