News Portal

पशुपति एकाडेमीद्वारा पत्रकार उपचार कोषमा सहयाेग

रातोपोस्ट संवाददाता
५४९ पटक

झापा, ३ माघ । शिवसताक्षी नगरपालिका- ८ स्थित पशुपति एकाडेमीले विद्यालयको वार्षिकोत्सवको अवसरमा सामाजिक क्षेत्रमा आर्थिक तथा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । विद्यालयको ३२ औं वार्षिकोत्सवमा सोमबार नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको सहारा उपचार कोषमा ११ हजार रुपैयाँ नगद सहयोग गरेको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय झिलझिले र ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । विद्यालयले झापाको पुरानो ऐतिहासिक धार्मिक स्थल क्षेत्रका ज्येष्ठ नागरिक ९७ वर्षीय हरि मातालाई नगद, खाद्य सामाग्री र न्यानो कपडाले सम्मान गरेको विद्यालयका संस्थापक सञ्चालक चन्द्रप्रसाद खनालले बताए ।

धाम क्षेत्रमा उदार गरी संरक्षण गरिएका गाई र सो आसपास क्षेत्रका बाँदरलाई फलफूल खुवाउने कार्यक्रम समेत गरिएको कार्यक्रमकी प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले बताइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा सहयोग पाएका दाताले विद्यालयले सामाजिक क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरेका छन् ।

यो सँगै नेपाल पत्रकार महासंघ झापाको पत्रकार उपचार कोषमा करिब ५१ लाख रुपैयाँ रकम जम्मा भएको छ । उक्त कोषलाई एक करोड पुर्‍याउने महासङ्घको उद्देश्य रहेको अध्यक्ष एकराज गिरीले बताएका छन् । शिवसताक्षी नगरपालिकामा निकै लोकप्रिय मानिएको निजी विद्यालय पशुपति एकाडेमीले आगामी दिनमा समेत थप सहयोग गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्