News Portal

  • व्यवसायीको साझा गठबन्धनका उम्मेदवारको १६ संकल्प सार्वजनिक

    रातोपोस्ट संवाददाता
    ७३ पटक

    झापा, १६ माघ । माघ २१ गते हुने मेची उद्योग वाणिज्य संघको निर्वाचनमा व्यवसायीका दुईवटा प्यानलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । निर्वाचनका लागि सोमबार नेपाली काँग्रेस निकट व्यवसायी र सत्ता गठबन्धन दलहरुका व्यवसायीले अलग–अलग उम्मेद्वारी दर्ता गराएका छन् । १६ पदका लागि निर्वाचन हुँदैछ ।

    सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका खेम प्रसाईंले अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । उनलाई माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टी (एसपा) ले साथ दिएका छन् । उता, नेपाली काँग्रेसबाट मोहन निरौलाले अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका छन् ।

    उम्मेद्वारी दर्ता गराएपछि सत्ता गठबन्धन दलहरुले धुलाबारीमा पत्रकार सम्मेलन गरेर उम्मेद्वारको परिचय गराएका छन् । छ वटा दल मिलेर बनेको साझा उम्मेदवार सार्वजनिक कार्यक्रममा प्रतिबद्धता व्यक्त गरिएको छ । साझा संकल्प नाम दिइएको सो प्रतिबद्धता पत्र १६ बुँदा समेटिएको छ । सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा वास्तविक व्यवसायीको पहिचान गरी साना, मझौला तथा सबै व्यवसायीको पक्षमा काम गर्ने उल्लेख गरिएको छ । व्यवसायलाई प्रोत्साहन गर्ने नीति बनाएको साझा गठबन्धनले कुनै पनि व्यवसायीलाई अहित हुने काम नगर्ने वचन व्यक्त गरिएको छ ।

    साझा गठबन्धन दलहरुको तर्फबाट अध्यक्ष पदमा एमालेका खेम प्रसाईंसहित वरिष्ठ उपाध्यक्ष पदमा माओवादी केन्द्रका पन्नालाल जैन, उद्योग उपाध्यक्ष पदमा एमालेका आनन्द खड्का, वाणिज्य उपाध्यक्ष पदमा रास्वपाका भीमबहादुर कुँवर, महिला उपाध्यक्षमा राप्रपाकी सुनिता शर्मा तथा महासचिव पदमा एमालेका दिनेश शाक्यले उम्मेद्वारी दर्ता गराएका छन् ।

    यस्तै, सदस्य पदमा एमालेबाट दिपेन्द्रराज पाण्डे, केपी सिवाकोटी, भीम विष्ट, गोपालप्रसाद गुप्ता र कृष्णकुमारी सुवेदी, माओवादी केन्द्रबाट श्रवणकुमार बानियाँ, पवित्रा तिवारी, राप्रपाबाट ललित अग्रवाल, रास्वपाबाट इन्द्रप्रसाद भण्डारी र एसपाबाट श्रवणकुमार साहले उम्मेद्वारी दिएका छन् ।

    सत्ता गठबन्धन दलहरुको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रमको अध्यक्षता एमालेका क्षेत्रीय संयोजक टिकाराम मंग्रातीले गरेका थिए । कार्यक्रममा माओवादी केन्द्रका क्षेत्रीय इन्चार्ज माधव अर्याल, रास्वपाका नगर सचिव कमल गौतम, राप्रपाका नगर सचिव विशाल बाँस्तोला, मेची उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष पन्नालाल जैन लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन माओवादी केन्द्र नगर अध्यक्ष राजन चिमरियाले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)