News Portal

जङ्गलमा आगो निभाउँदा एकको मृत्यु, एक गम्भीर घाइते

रातोपोस्ट संवाददाता
३४४ पटक

म्याग्दी, २४ फागुन । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ मा पर्ने भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । आगो निभाउने क्रममा आज दिउँसो ३ बजे २६ वर्षीय मनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सोही आगलागीमा परी मृतक बोहराका भाइ २१ वर्षीय बोहरा घाइते भएका छन् । सोमबर रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन ।

जङ्गलमा लागेको आगो बस्तीमा आउन थालेपछि आगो निभाउने क्रममा मनबहादुरको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरेन्द्रराज गुरुङले जानकारी दिए । उनका अनुसार मृतक मनबहादुरका भाइको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको छ । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली, स्थानीयवासी, युवा क्लब, लायन्स क्लब, रेडक्रसकर्मीको सहयोगमा उद्धार गरी घाइते बोहोरालाई प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा ल्याइएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि घाइतेलाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष अमृत सापकोटाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्