News Portal

ब्राउन सुगर कारोबारमा संलग्न सशस्त्र प्रहरीका हवदारसहित ११ जना पक्राउ

रातोपोस्ट संवाददाता
३२५ पटक

काठमाडौं, २७ फागुन । लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न ११ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सशस्त्र प्रहरी बलका एक हवल्दार पनि छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ११ जनालाई विभिन्न मितिमा ३२२.६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जनाएको छ। पक्राउ पर्नेमा म्याग्दी घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्ने २५ वर्षीय लालबहादुर बुढाथोकी छन्।

उनको साथबाट प्रहरीले सय ग्राम ब्राउन सुगर बरामद गरेको छ। काठमाडौं धुम्बाराहीस्थित गेष्ट हाउसबाट अजय तामाङलाई २९४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको ब्युरोले जनाएको छ। अन्य पक्राउ पर्नेमा दोलखाका कौशल बस्नेत, सिन्धुपाल्चोकका समीर घले गुरूङ, झापाका अन्जान राई, सञ्जय लक्सम्बा, पुकार गुरूङ, प्रविण भण्डारी, सुनिल ताजपुरिया, भारत दार्जिलिङका श्यामल सिंह छन्।

लागुऔषधको कारोबारमा संलग्न सशस्त्र प्रहरी बलका हवल्दार खगेन्द्र भुजेल हुन्। मोरङ दुलारी घर भई भुजेल हाल २ नम्बर हेडक्वाटर झापामा कार्यरत थिए। ब्युरो प्रमुख एसएसपी हृदय थापाले भुजेलको कनेक्सन भारतीय नागरिक श्याम सिंहसँग जोडिएको बताए। सिंहले भुजेललाई, भुजेलले सुनिल ताजपुरियामार्फत कौशल बस्नेतलाई ब्राउन सुगर उपलब्ध गराउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको थापाले जानकारी दिए।

थापाका अनुसार लालबहादुर बुढाथोकीले कौशल बस्नेतसँग खरिद गर्ने गरेको, बस्नेतले समीर गुरूङलाई बिक्री गर्ने गरेको खुलेको छ। प्रविण भण्डारीले भारत सिलिगुडी गएर लागुऔषध खरिद गरी अजय तामाङमार्फत् अन्जान राईलाई बिक्री गर्ने गरेको खुलेको थापाले बताए।

प्रतिकृया दिनुहोस्