झापा, १९ जेठ । झापाको मेचीनगर–१३, सुगम टोलकी १९ वर्षीया रोजिता विकले ११ चैतमा लाइफलाइन अस्पताल दमकमा छोरालाई जन्म दिइन् । छोरा जन्मिएपछि अत्यधिक रक्तश्राव भयो । अस्पतालले नसक्ने भन्दै नोबेल अस्पताल विराटनगर पठायो । नोबेलमा जाँच गर्दा कोरोना देखियो । नोबेलले उपचार नगरेर मेची अस्पताल पठायो । मेचीले रोजितालाई कोरोना नभएको र अवस्था खतरा भएको भन्दै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठायो । धरान पुगेपछि उनको दुवै मिर्गौलाले काम नगर्ने पुष्टि भयो ।
‘पहिला केही पनि रोग थिएन । सुत्केरी हुँदा धेरै रगत गएकाले मिर्गौला ड्यामेज भएको भनेर डाक्टरले भनेका छन्,’ रोजिताकी सासू मनकुमारी विकले भनिन्, ‘एकैपटक यो खबर सुनेर छाँगाबाट खसेजस्तै भयो । घरकी एक्ली बुहारी यसरी बिरामी छे, कसरी मन मान्छ ।’रोजितालाई मिर्गौलामा समस्या देखिएपछि दुई महिना धरानस्थित अस्पतालमा राखियो । अस्पतालमा राख्दा करिब १५ लाख रुपैयाँ खर्च भइसकेको छ । विपन्न दलित परिवारले बल्लतल्ल त्यो रकम जोहो ग¥यो । ‘विदेश बस्दा दुई कट्ठा जग्गा यहाँ (मेचीनगर–१३ मा) किनेको थिएँ । सम्पत्तिको नाममा यति नै हो,’ उनका ससुरा धनबहादुर भन्छन्, ‘त्यही धितो राखेर ऋण लिएर बुहारीको उपचार गर्दै छु । २० को १९ भएको छैन । अब उपचार गर्ने पैसा पनि छैन ।’विपन्न विक परिवार तराईमा केही गरेर खान सकिन्छ कि भनेर ६ वर्षअघि पहाडबाट झापा झरेको थियो । वरिपरि टिनले बेरा गरेर उनको परिवार बस्दै आएको छ । बर्खामा ठूलो पानी छेक्दैन, घरले । अरूको अधियाँ खेती र मजदुरी गरेर उनको परिवार चलेको छ । ‘दिनभर काम गरेर साँझ ल्याएर खाने परिवार हो, हाम्रो । काम नगरेको दिन के खाने भन्ने चिन्ता हुन्छ,’ मनकुमारी भन्छिन्, ‘एकैपटक यत्रो बज्रपात पर्दा अब के गर्ने भन्ने चिन्ता छ ।’
रोजिता त गम्भीर बिरामी भइन् नै, उनबाट जन्मिएको छोरा पनि स्वस्थ छैनन् । मुटुमा समस्या देखिएको र शल्यक्रिया गर्नुपर्ने भएकाले काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको छ । ‘जन्मिएको केही समयपछि नाति पनि बिरामी भयो । सुरुमा बिएन्डसी अस्पताल राख्यौँ । एक रातमै ७० हजार रुपैयाँ सकियो,’ मनकुमारी भन्छिन्, ‘यहीँ उपचार गर्न सक्ने भए पाँच लाख जम्मा गर्नु भने । नसक्ने भए काठमाडौं लानु भनेपछि नानीलाई काठमाडौं लगेका हौँ ।’
भर्खर १९ वर्ष मात्र पुगेकी रोजिता ओछ्यानमा छटपटाइरहेकी छन् । अहिले मेची अस्पतालमा उनको हप्तामा दुईपटक डायलाइसिस गर्नुपर्छ । ‘डायलाइसिस गर्न त निःशुल्क छ । लान र ल्याउन अनि औषधि गरेर हप्तामा दश हजार सकिन्छ,’ मनकुमारीले भनिन्, ‘भएको सबै सकियो । नातिलाई पनि उस्तै खर्च भइरहेको छ । अब के गर्ने हो, सोच्न पनि सकिएको छैन ।’रोजिता एक्लै बाहिर–भित्र गर्न सक्दिनन् । उनलाई परिवारका एक सदस्यले सहारा दिनुपर्छ । ‘मिर्गौला नै फेर्न पाए त कतै बाँच्थेँ कि १ मलाई मर्न मन छैन,’ ओछ्यानमा थलिएकी रोजिता भन्छिन्, ‘मेरो नानी पनि देख्न पाएको छैन । मलाई बाँच्न मन छ । कसैले सहयोग गर्नुहुन्छ भन्ने आस छ । म बाँचिनँ भने त नानीको बिजोग हुन्छ ।’
सरकारले बजेट भाषणमार्फत विपन्नलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गरेको छ । तर, विपन्न दलित परिवारकी रोजिता उपचार गरिदिन याचना गरिरहेकी छन् । ‘बुहारी र नातिलाई जसरी पनि बचाउनु छ । तर, हामीसँग पैसा छैन । गरिबलाई साह्रै गाह्रो रहेछ,’ धनबहादुर भन्छन्, ‘सरकारले सहयोग गरे पनि हुने । केही गर्न नसकेपछि त आस पनि लाग्दो रहेछ ।’
अहिले उनीहरूलाई दुई महिनाको नातिको उपचार र बुहारीको डायलाइसिसका लागि पैसा जुटाउन पनि मुस्किल परेको छ । ‘नाति पनि अन्तिम अवस्थामा छ । राम्रो उपचार गर्न पाए त बचाउन सकिन्थ्यो होला,’ धनबहादुर भन्छन्, ‘बुहारीको त्यस्तै अवस्था छ । भएको सबै जग्गा जमिन बेच्दा पनि नपुग्ने ऋण लागेको छ । अब के गरेर उपचार गर्ने ? अब भएको घर मात्र बेच्न बाँकी छ । सुख खोज्न पहाडबाट आएको थिएँ । अब फेरि उतै फर्किनुपर्ला जस्तो छ ।’