News Portal

एकीकृत समाजवादीका चारै मन्त्री फिर्ता बोलाइँदै, यी हुन् अबका मन्त्री

रातोपोस्ट संवाददाता
२७० पटक

काठमाडौं, २२ जेठ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले आइतबार सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाउने भएको छ । सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर उनीहरूको ठाउँमा कसलाई पठाउने भन्ने जिम्मा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई दिइएको छ । यो निर्णयसँगै समाजवादीले अब कसलाई कुन मन्त्री बनाउला भन्ने चर्चा सुरु भएको छ ।

नेकपा एसका एक नेताका अनुसार सरकारमा सहभागी हुने नयाँ मन्त्रीको टुंगो अध्यक्ष नेपालले लगाइसकेका छन् । नेपालले पाँचै जनाको नाम टुंगो लगाएर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको ती नेताले बताए ।

‘६ महिनाअघि उहाँहरूलाई मन्त्रीका रुपमा पठाउँदा एउटा भद्र सहमति भएको थियो । त्यो के थियो भने, ६ महिनापछि मन्त्री हेरफेर हुनेछ,’ नाम खुलाउन नचाहेका ती नेताले भने, ‘त्यही सहमति अनुसार उहाँहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाउन लागिएको हो ।’

उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको ठाउँमा हालका स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङ, संस्कृति, पर्यटन तथा उड्ड्यन मन्त्री प्रेम आलेको ठाउँमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको ठाउँमा मेटमणि चौधरी र श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री कृष्णकुमार श्रेष्ठको ठाउँमा शेरबहादुर कुँवरलाई पठाइएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा भने हिरा केसीलाई ल्याइँदै छ ।

प्रतिकृया दिनुहोस्