News Portal

पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा सरकार पुग्यो : ओली

रातोपोस्ट संवाददाता
२८० पटक

काठमाडौँ, २२ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा पुगेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले वातावरण विनाशको डिलमा पुग्न लागेको उल्लेख गर्दै यसबारे केही नलेज छ कि छैन ? भनि सरकारलाई प्रश्न समेत गरे ।

विश्व वातावरण दिवसको अवसर पारेर आइतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको हिमालले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकै कारण आफू नेतृत्वको सरकारले तय गरेको ‘सगरमाथा संवाद’ कार्यक्रमलाई अगाडि बढाउन वर्तमान सरकार सक्षम नभएको बताए ।

उनले वातावरणीय प्रश्नमा नेपालको हिमाल महत्वपूर्ण रहेको विषयमा आफूले सरकारमा रहँदा विश्वका नेताहरुसँग संवाद गरेको उल्लेख गर्दै त्यसको महत्व दर्शाउनका लागि अन्तराष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम संचालन गर्ने निर्णय गरिएको पनि स्मरण गराए । तर त्यो सन् २०२० मा कोभिडका कारण अघि बढन नसकेको र त्यसपछि अघि बढाउन खोज्दा सरकारबाट हट्नुपरेको अध्यक्ष ओलीको भनाइ थियो । वातावरणीय संरक्षणको प्रश्नमा नेपालको भूमिका महत्वपूर्ण रहेकोतर्फ पनि विश्व नेताहरुको ओलीले ध्यानाकर्षण गराए ।

उनले भने, ‘हाम्रा हिमालहरूले दिएको ओश, हाम्रा हिमालहरूले दिएको पानीको ससना कोणहरू, जो हावामा पठाइएको छ । त्यसको असरका कारण पुरै ड्राई भएको हुँदैन । मैले संयुक्त राष्ट्र संघका वातावरणको सम्बन्धमा काम गर्ने लिडरहरू, लिडिङ परसनालिटी, जसले इन्भारमेन्टको बारेमा काम गर्छ । उनीहरुलाई मैले के हो माउन्टेन, माउन्टेन क्लाईमेट के हो र हिमाल नेपालमा मुख्यरुपमा छन । सबभन्दा धेरै त नेपालमा छ । नेपालको १७ प्रतिशत भूभाग हिमाल छ । यो खाली नेपालका लागि मात्रै महत्वपूर्ण छैन । र, हिमालको क्लाईमेट भनेको हाम्रो लागि हैन, हाम्रो निम्ति मात्रै होइन । यो विश्वका लागि हो ।

त्यसकारण विश्वले यसमा बुझ्नु पर्दछ भनेर मैले इन्टरनेशनल फोरममा, यूएनका जिम्मेवार व्यक्तिहरूसँगको भेटमा सबै ठाउँमा यसलाई उठाएको छु ।’अध्यक्ष ओलीले वातावरण संरक्षणका लागि वनको भन्दा पनि हिमालको भूमिका महत्वपूर्ण हुने भएकाले विश्व नेताहरुले नेपालको हिमालबारे चर्चा गर्नु अति जरुरी रहेको तर्क गरे ।

प्रतिकृया दिनुहोस्